Butwal Today

सारा शक्ति लगाएर काङ्ग्रेसबाटै खेदिएका खनाल बने माननीय 

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

नवलपरासी । नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार विक्रम खनाल विजयी भएका छन् । खनालले प्रतिस्पर्धी उम्मेदवार नेपाली काँग्रेसका विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन ।

कुल ८२ हजार १०७ मतमा खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाएका छन् । तेस्रोमा एमालेका रामप्रसाद पाण्डेले ७ हजार ९५६ प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनको ३ वर्षपछि खनाल काङ्ग्रेसबाट कारबाहीमा परेका थिए ।प्रतिनिधि सभा सदस्यमा विनोद कुमार चौधरीले निर्वाचन जितेपछि पनि उनैलाई हराउन भूमिका खेलेको भन्दै तत्कालीन पार्टीबाट उनी कारबाहीमा परेका थिए ।

लुम्बिनी प्रदेशको महामन्त्रीको पद समेत नरहने गरी जिल्लाका नेताहरूको चर्को दबाबमा ३ वर्षपछि खनाल कारबाहीमा परेका थिए ।कारबाही पछि फुकुवाका लागि खनालले निकै सङ्घर्ष गरे पार्टी पङ्ती र केन्द्रीय नेतृत्वले जिल्लाका केही नेताको दबाबमा उनलाई कारबाही गराएरै छाडियो ।

काङ्ग्रेसका निवर्तमान केन्द्रीय सदस्य देवेन्द्र राज कँडेल, लुम्बिनी प्रदेश मन्त्री देवकरण कलवार र विनोद चौधरी निकट रहेका काङ्ग्रेसको सिङ्गो पङ्ती नै खनाल विरुद्ध हात धोएर लागे ।

काङ्ग्रेसको प्रभावशाली नेताको रूपमा रहेका खनाललाई पार्टीबाट निष्कासन गरेपछि आफूहरूको राजनीतिक भविष्य उज्ज्वल हुने भ्रममा जिल्ला देखि प्रदेश र केन्द्र सम्मकै नेताहरू पार्टीबाटै निष्कासन गर्न सङ्घर्ष गरे ।

अनुशासनको कारबाही गरि खनाललाई पार्टी बाट निष्कासन गरिएपछि सङ्गठन सुधारिनु पर्नेमा नवलपरासी १ मा काङ्ग्रेसको सङ्गठन थप धराशायी बन्यो ।आम कार्यकर्तामा विचलनको अवस्था आयो ।

१३ वर्षको उमेर देखी विद्यार्थी सङ्गठन निर्माण देखि लामो समय काङ्ग्रेसमा पसिना बगाएका खनाल पार्टीबाटै संरक्षणको अनुभूति नहुनु र पटक पटक खेदिएपछि उनी पार्टीबाट अलग्गिन बाध्य भएको उनको अभिव्यक्तिले प्रस्ट हुन्छ ।

निर्वाचनको मुखमै रास्वपा बाट उनी उम्मेदवार बनेपछि क्षेत्र नम्बर १ मा काङ्ग्रेस त्याग्नेको लहर चल्यो एक प्रकारले काङ्ग्रेसमा पहिरो गयो काङ्ग्रेसको सङ्गठन थप कमजोर बन्यो।काङ्ग्रेस त्यागेका एउटा ठुलो पङ्क्ति नै खनाललाई जिताउन लागि पर्‍यो ।

पार्टी छोड्ने क्रम चलिरहँदा काङ्ग्रेस भित्रकै नेतृत्वले यो पार्टी भित्रको चरम असन्तुष्टिको मूल्याङ्कन गर्न नसकी “रुखबाट दुई चार ओटा पात झर्दैमा केही फरक पर्दैन”भन्ने अभिव्यक्तिले  आम कार्यकर्ता र खनाल पक्षधरका काङ्ग्रेस नेतृत्वलाई रुष्ट्यायो ।

फलस्वरूप धमाधम पार्टी परित्याग गर्नेको लहर चल्यो ।खनालका प्रतिस्पर्धी उम्मेदवार विनोद चौधरी निकटका काङ्ग्रेस कार्यकर्ता र केही नेताहरूले पार्टीमा फर्कने वातावरण तयार गर्नुको साटो यो व्यवहारले अन्यलाई समेत पनि पार्टी छोड्न उक्सायो बाध्य बनायो ।खनाललाई कारबाही गर्न मुख्य भूमिका निर्वाह गर्ने देवेन्द्र राज कँडेल मनोनयनको अन्तिम समयमा उम्मेदवार हुन पाएनन् ।

अहिले नवलपरासीका दुवै क्षेत्रका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उनलाई जिल्ला अनुशासन समितिले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरि कारबाहीको सिफारिस गरिएको छ ।

यो अवस्थालाई अधिकांशले विक्रम खनाल माथि गरिएको कर्मको फल क्रमशः अहिले आएर कँडेलमाथि नै फर्किएको कार्यकर्ताहरूले बताउन थालेका छन् ।खनाल काङ्ग्रेसको सक्रिय राजनीति र पदमा रहँदा उनिबाट लाभ लिएर प्रदेश सभा सदस्य,पालिका अध्यक्ष बनेका नेताहरू खनाललाई कारबाही गरी पार्टीबाट टिकट दिन नहुने कसरतमा रहेको टिप्पणी समेत हुने गरेको छ ।

उनीहरू शक्ति र सत्ता सन्तुलन मिलाउन खप्पिस रहेको कार्यकर्ताहरूको बुझाई छ ।”जति पनि अहिले कोही प्रदेश मान्य,कोही पालिका अध्यक्ष बनेका छन्,यो सब विक्रमको योगदान हो,अहिले सबै शक्तिको पछि लागे,उनीहरूलाई पनि सबैले चिने”एक काङ्ग्रेसका नेताले भने ।

रास्वपा बाट उम्मेदवार बनेका खनाल भारी मतान्तर सहित विजयी भएका छन् ।काङ्ग्रेसका उम्मेदवार विनोद चौधरीलाई भारी मतले पछि पार्दै उनी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?