Butwal Today

कांग्रेसका पदाधिकारी सबै पराजित, दोश्रो दलमा सीमित

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौं-फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका पदाधिकारीहरू सबै पराजित भएका छन्।

सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए। थापालाई रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले हराएका हुन्।

रास्वपाका सिंहले ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी हुँदा थापा २२ हजार ८ सय ३१ मतमै रोकिए। कांग्रेस केन्द्रीय समिति भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा सभापति गगन थापालाई अघि सारेर चुनावमा होमिएको थियो।

कांग्रेसका दुई उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने चुनावमा उठेका थिएनन्।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे पनि पराजित भए। महामन्त्री पौडेल काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार थिए। पौडेल रास्वपाका सम्मित पोखरेलसँग पराजित भएका हुन्।

सस्मितले ३० हजार ७ सय ३७ मत ल्याउँदा प्रदीप ९ हजार १ सय ५९ मतमै रोकिए। अर्का महामन्त्री गुरूराज घिमिरे मोरङ ४ मा पराजित भए। रास्वपाका सन्तोष राजवंशीले महामन्त्री घिमिरेलाई हराएका हुन्।

रास्वपाका राजवंशीले ४० हजार ८ सय ३३ मत ल्याउँदा कांग्रेसका घिमिरेले १२ हजार ८ सय १८ मतमात्रै ल्याएका छन्।

कांग्रेसका सहमहामन्त्रीहरूले पनि चुनाव हारे। सहमहामन्त्री उदयशम्शेर राणा ललितपुर क्षेत्र नम्बर १ बाट पराजित भए। यहाँ रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनले जिते। महर्जनले २३ हजार ३ सय ७३ मत ल्याएका थिए। उदयले १३ हजार ५ सय २० मतमात्रै ल्याएका थिए।

सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि पराजित भए। उनी बारा ३ मा उम्मेदवार थिए। यहाँ रास्वपाका अरबिन्द साह विजयी भए। साहले ४० हजार ६ सय ९७ मत ल्याएका थिए भने मन्सुरले जम्मा १० हजार ५२ मतमात्रै ल्याए।

अर्का सहमहामन्त्री प्रकाश रसाइली स्नेही पनि पराजित भए। यहाँ एमालेका ऐनबहादुर महर विजयी भए। महरले १८ हजार ५ सय ४३ मत ल्याउँदा प्रकाश १६ हजार ३०४ मै रोकिए।

डोल्पामा कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढा पराजित भए। नेकपाका उम्मेदवार धनबहादुर बुढाले उनलाई हराए।धनबहादुरले ६ हजार ८ सय २ मत ल्याएर विजयी हुँदा कर्णबहादुर २ हजार ९ सय ४७ मतमै रोकिए। उनीहरू दाजुभाइ हुन्, फरक-फरक पार्टीबाट राजनीतिमा सक्रिय छन्।

दाङ १ मा उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी पनि पराजित भए। यहाँ रास्वपा उम्मेदवार देवराज पाठक निर्वाचित भएका थिए। पाठक ४२ हजार ६ सय २ मतसहित निर्वाचित हुँदा चौधरी १५ हजार २ सय ८० मतमै रोकिए।

कांग्रेसले अहिलेसम्म जित्यो १७ सिट

कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ। कोशीमा कांग्रेसले ३ सिट जितेको छ। पाँचथरमा नरेन्द्रकुमार केरूङ, तेह्रथुममा सन्तोष सुब्बा र सोलुखुम्बुमा प्रकाशसिंह कार्कीले जिते।

मधेसमा कांग्रेसले जम्मा एक सिट जितेको छ। रौतहट २ मा मो. फिरदोश आलमले चुनाव जितेका छन्। बागमती प्रदेशमा पनि कांग्रेसले जम्मा १ सिट जितेको छ। रसुवामा मोहन आचार्य निर्वाचित भएका थिए।

गण्डकी प्रदेशमा कांग्रेसले २ सिट जितेको छ। मनाङबाट टेकबहादुर गुरूङ र मुस्ताङबाट योगेश गौचन थकालीले चुनाव जिते। लुम्बिनी प्रदेशमा पनि कांग्रेसले २ सिट जित्यो। पाल्पा १ मा सन्दीप राना र कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह निर्वाचित भएका छन्।

कर्णाली प्रदेशमा कांग्रेसले ५ सिट जित्यो। हुम्लामा जयपती रोकाया, जाजरकोटमा खडकबहादुर बुढा, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का र मुगुमा खड्ग शाहीले चुनाव जिते।

कांग्रेसबाट एक जना महिलाले मात्रै चुनाव जितेकी छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले ३ सिट जित्यो। बाजुरामा जनकराज गिरी, अछाम १ मा भरतकुमार स्वार र डोटीमा भरतबहादुर खड्काले चुनाव जितेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?