© 2026
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म १५ क्षेत्रमा विजयी भएको छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।
नेपाली काँग्रेसले तीन क्षेत्रमा जित निकालेको छ । मनाङ १ मा काँग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली र दैलेख १ मा बासना थापा विजयी भएका छन् । जारी मतगणनामा काँग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसक्नुभएको छ ।
नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि छन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् । रासस