Butwal Today

सल्यानमा मतगणना सुरु

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सल्यान ।

सल्यानमा मतगणना कार्य सुरु भएको छ । केहि बेर अघि मात्रै जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य सुरु भएको हो ।

कुमाख गाउँपालिका, ३ का दुई मतपेटिकाका मतपत्र खन्याएर गणना सुरु भएको हो । सुरुमा एक स्थानमा मतपत्र खन्याएर गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगीले जानकारी दिए । त्यसपछी गणनाको टिम पनि बढाउने तयारी छ । पहिलो चरणमा प्रत्यक्ष तर्फको मतगणना सुरु भएको छ । यस अघि बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतगणना प्रक्रिया, पालना गर्नुपर्ने आचारसंहिता तथा व्यवस्थापन सम्बन्धी विषयमा सहमति जुटाएको थियो ।

जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१.५२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता मध्ये ८३ हजार ६९२ जनाले आफ्नो मताधिकार प्रयोग गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसबाट केशबहादुर बिष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह, नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर खडका, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द र नेपाली कम्युनिष्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवार छन् ।

गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ८३ हजार ७४ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?