Butwal Today

सल्यानमा अझै सुरु हुन सकेन मतगणना, सर्वदलीय बैठक जारी

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सल्यान ।  सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक सुरु भएको छ । मतगणना अघि आवश्यक निर्णय गर्न जिल्ला समन्वय समिति सल्यानको सभा हलमा बैठक बसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान साढे ७:३० बजे बैठक गर्ने तयारी गरिए पनि केही ढिला गरी बैठक सुरु गरिएको हो । बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सम्बन्धित सरोकारवालाहरू सहभागी छन् ।

बैठकबाट मतगणना सम्बन्धी आवश्यक निर्णय, पालना गर्नुपर्ने आचारसंहिता तथा मतगणना प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सहमति जुटाइने छ । बैठक सम्पन्न भए लगत्तै मतगणना कार्य सुरु गरिने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगीले जानकारी दिए ।

यसअघि जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम खलङ्गा ल्याइसकिएको छ । भौगोलिक विकटता तथा लामो दूरीका कारण केही स्थानबाट मतपेटिका बिहान साढे दुई बजे मात्र आइपुगेका थिए ।

मतगणनाका लागि जिल्ला समन्वय समितिको ठुलो हलमा तयारी गरिएको छ । सिसी क्यामेरा जडान, तारजालीको घेरबार तथा सुरक्षा व्यवस्थासहित मतगणना स्थललाई सुरक्षित बनाइएको छ । मतगणनाका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको जनाइएको छ ।

जिल्लाका ११७ मतदान स्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । ती मतदान केन्द्रबाट ८२ हजार २०१ जनाले मताधिकार प्रयोग गरेको विवरण छ । यद्यपि वास्तविक विवरण अझै रुजु हुन नसकेको र अन्तिम विवरण भने सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता रहेका थिए ।

सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली काङ्ग्रेसबाट केशबहादुर विष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह, नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर खडका, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द र नेपाली कम्युनिस्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार छन् ।

यसै गरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवार छन् ।

गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ८३ हजार ७४ मत खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?