Butwal Today

गुल्मीमा बिहान ९ बजेदेखि मतगणना सुरु हुने

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

गुल्मी  ।  गुल्मीमा बिहान ९ बजेदेखि मतगणना सुरु गरिने भएको छ । मतगणना अघि बिहान सर्वदलीय बैठक बस्न लागिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकमा मतगणना प्रक्रियाबारे छलफल गरी आवश्यक सहमति जुटाएपछि मतगणना सुरु गरिने उनले बताए ।
जिल्लामा रहेका सबै मतदान केन्द्रबाट सङ्कलित मतपेटिकाहरू गए राति १२ बजेसम्म सुरक्षित रूपमा सदरमुकाम तम्घास ल्याइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।

उनका अनुसार मतपेटिका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाबिच सदरमुकाममा सङ्कलन गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं १ को मतगणना जिल्ला समन्वय समितिको सभा हलमा र क्षेत्र नं २ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसमा गरिने भएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा गुल्मीमा बिहीबार सम्पन्न निर्वाचनमा कुल मतदातामध्ये ५१.३६ प्रतिशत मतदान भएको थियो । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा रहेका दुई लाख २९ हजार पाँच सय ४९ मतदातामध्ये एक लाख १७ हजार नौ सय एक मत खसेको बताइएको छ ।

जिल्लामा खसेका मतमध्ये महिला मतदाता ६४ हजार आठ सय ९७, पुरुष ५३ हजार दुई तथा अन्य दुई जना रहेका छन् । जिल्लाका सबै मतदान स्थलमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।

जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रमार्फत आज बिहानैदेखि मतदाताले उत्साहपूर्वक रूपमा मतदानमा सहभागी बनेका थिए । प्रशासनले निर्वाचन सम्पन्न भएसँगै मतपत्र सङ्कलन र सुरक्षा व्यवस्थापनलाई विशेष ध्यान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?