Butwal Today

सल्यानमा २ बजेसम्म ३४ प्रतिशत बढी मतदान, मतगणनाको तयारी पूरा

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

सल्यान, २१ फागुन ।

सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतदानमा दिउँसो २ः०० बजेसम्म ३४ प्रतिशतभन्दा बढी मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाभर रहेका एक लाख ६२ हजार ४४९ स्थायी मतदातामध्ये ५६ हजार ३६८ जनाले मतदान गरेका छन् भने तीन हजार ३५५ अस्थायी मतदातामध्ये ७९ जनाले मत प्रयोग गरेका छन् ।

कार्यालयका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार स्थानीय तहअनुसार कपुरकोट गाउँपालिकामा १२ हजार २२५ मतदातामध्ये पाँच हजार १०८, कालीमाटी गाउँपालिकामा १५ हजार ५५३ मध्ये ६ हजार ४८० र कुमाख गाउँपालिकामा १५ हजार ३३७ मध्ये तीन हजार ३३७ जनाले मतदान गरेका छन् ।

छत्रेश्वरी गाउँपालिकामा १६ हजार १३७ मध्ये पाँच हजार ५६९, सिद्धकुमाख गाउँपालिकामा आठ हजार ८४८ मध्ये तीन हजार ८७०, त्रिवेणी गाउँपालिकामा ११ हजार ८५९ मध्ये तीन हजार ७४० र दार्मा गाउँपालिकामा १२ हजार ४९७ मध्ये एक हजार ३३१ जनाले मतदान गरेका छन् ।

त्यस्तै तीन नगरपालिकामध्ये बनगाड कुपिण्डे नगरपालिकामा २२ हजार ४९ मतदातामध्ये पाँच हजार ५८९, बागचौर नगरपालिकामा २३ हजार १२६ मध्ये आठ हजार ८९२ र शारदा नगरपालिकामा २४ हजार ८३७ मध्ये १२ हजार ४५२ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।

मतगणनाको तयारी पूरा

मतदान कार्यसँगै जिल्लामा मतगणनाको तयारी पनि पूरा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदरमुकाम खलङ्गास्थित जिल्ला समन्वय समितिको ठुलो हललाई मतगणना स्थल तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार मतगणना हुने हल परिसरमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । समन्वय हल नजिकै मालपोत कार्यालय प्रवेश गर्ने बाटो र जिल्ला समन्वय कार्यालय प्रवेश गर्ने स्थानमा क्यामेरा राखिएको छ भने हलका दुवै ढोकाबाहिर र हलभित्रको सम्पूर्ण क्षेत्र देखिने गरी दुई वटा क्यामेरा जडान गरिएको छ ।

मतगणना स्थल वरिपरि करिब साढे ६ फिट अग्लो तार जाली (ग्याविन) लगाइएको छ भने त्यस माथि मसिनो जाली थपेर करिब १० फिट अग्लो सुरक्षा घेरा तयार गरिएको छ । मतगणना सिफ्ट प्रणालीमा सञ्चालन गरिनेछ ।

प्रत्येक सिफ्टमा मुख्य गणना अधिकारीसहित ६ जना जनशक्ति खटिनेछन् । मुख्य गणना अधिकारीका रूपमा मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था गरिएको छ भने एक जना गणना अधिकारी, दुई जना गणक, एक जना कम्प्युटर अपरेटर र एक जना सहयोगी रहनेछन् ।

मतगणना निर्देशिका तथा निर्वाचन आयोगबाट प्राप्त २९ बुँदे मार्गदर्शनका आधारमा मतगणना गरिने कार्यालयले जनाएको छ । मतपेटिका मतगणना स्थलमा आइपुग्न राति अबेर हुनसक्ने अनुमान गर्दै फागुन २२ गते बिहान सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मात्र मतगणना सुरु गरिने सम्भावना रहेको छ ।

१४ उम्मेदवार प्रतिस्पर्धामा

जिल्लामा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन्। । राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली काङ्ग्रेसबाट केशबहादुर विष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह, नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर खडका, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार रहेका छन् ।

यसै गरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा चुनावी प्रतिस्पर्धामा छन् ।

स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवारका रूपमा मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?