घोराही, २१ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ जिल्लामा करिब दुई लाख मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो २ : ३० बजेसम्म १ लाख ९६ हजार ४१३ मत खसेको हो ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा पुरुष ८९ हजार ४९९ र महिला १ लाख ६ हजार ९१४ जनाले मतदान गरेका छन् । उनका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ६६ हजार १८६ मत खसेको छ । यस क्षेत्रमा पुरुष ३१ हजार ७५४ र महिला ३४ हजार ४३२ जनाले मतदान गरेका छन् ।
त्यसै गरी निर्वाचन क्षेत्र नं. २ मा ५८ हजार ७२८ मत खसेको छ । यहाँ पुरुष २६ हजार ९९ र महिला ३२ हजार ६२९ जनाले मतदान गरेका छन् । निर्वाचन क्षेत्र नं. ३ मा ७१ हजार ४९९ मत खसेको छ ।
यस क्षेत्रमा पुरुष ३१ हजार ६४६ र महिला ३९ हजार ८५३ जनाले मतदान गरेका छन् । जिल्लामा चार लाख ३१ हजार ६८६ मत रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।