© 2026
गुल्मी ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म जिल्लाभर ५६ हजार ४ सय ६२ मत अर्थात् २३ प्रतिशत मत खसेको छ ।
खसेको मतमध्ये महिला २७ हजार ६ सय २२ र पुरुष २६ हजार ८ सय ४० रहेका छन् । जिल्लाभर बिहान ७ बजेदेखि सुरु भएको मतदान सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन्। जसमध्ये १ लाख १५ हजार २ सय १० महिला, १ लाख १४ हजार ३ सय ३७ पुरुष र अन्य २ जना मतदाता रहेका छन् । जिल्लाभर १ सय ४५ मतदान स्थलमा २ सय ८४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ ।
गुल्मी क्षेत्र नम्बर १ मा कुल १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन् । जसमध्ये ६२ हजार २ सय ७२ महिला र ५९ हजार ९ सय १४ पुरुष मतदाता छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएका छन् ।
त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन् । जसमध्ये ५२ हजार ९ सय ३८ महिला, ५४ हजार ४ सय २३ पुरुष र अन्य २ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागारमा पनि एक अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।
यस निर्वाचनमा जिल्लाभर ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये क्षेत्र नम्बर १ मा २१ जना र क्षेत्र नम्बर २ मा २२ जना उम्मेदवार रहेका छन् । निर्वाचन अधिकृतहरूका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।