Butwal Today

रुपन्देहीमा खटिएका कर्मचारीले थाले काम, मतदानको तयारी अन्तिम चरणमा

२० फाल्गुन २०८२, बुधबार
अ+
अ-

बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन्। खटिएका कर्मचारीले मंगलबारदेखि नै मतदानस्थलमा काम शुरु गरेका छन्। मतदानका लागि आवश्यक सामग्री व्यवस्थापनदेखि मतदाताको लाइनका लागि आवश्यक तयारी थालेको निर्वाचन कार्यालयहरुले जनाएका छन्।

बुधबार निर्वाचन कार्यालयहरुले सर्वदलीय बैठकमार्फत मतदानअघिका पूर्वतयारीबारे जानकारी गराएका छन्।

रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका, सिल, छाप लगायतका आवश्यक सामग्री व्यवस्थापनको काम भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थलमा तय गरिएका ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्ने छन्।

सबै मतदान केन्द्रमा एक एक जना मतदान अधिकृत र एक एक जना सहायक मतदान अधिकृत सहित कर्मचारी खटाइएको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।

निर्वाचनमा मतदाताहरूको सहजताको लागि २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी समेत खटाइएको छ। मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार रूपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

सोमबार मध्यरातदेखि मौन अवधि सुरू भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल, केन्द्र र मतगणना स्थलमा आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाएका हुन्।

मंगलबार बिहानैदेखि नै मतदान स्थलहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन्।

बस्नेतका अनुसार मतदान स्थलमा पुगेका अधिकृतहरूले सूचना टाँस गर्ने, सर्वदलीय बैठक गर्ने र मतदानको तयारी गरिरहेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरूले प्रभावकारी रूपमा काम गरिरहेको बस्नेतको भनाइ छ।

मतदानको तयारीसँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणना स्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, गणना स्थलमा तार जाली लगाउने लगायतका काम पनि अन्तिम चरणमा पुगेको बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?