© 2026
सल्यान, १८ फागुन ।
निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामग्री ढुवानी गरिएको हुन सक्ने आशङ्कामा सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा प्रयोग हुँदै आएको बोलेरो जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मदिरा र खाद्यान्न सहित जिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका, १ स्थित सल्ली बजार माथिल्लो बजारमा सोमबार बिहान करिब ९:४० बजेको समयमा क.प्र. ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप खैरागारतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागी जाँच गरेको हो ।
जिपमा रहेको २५ के.जि.का २ बोरा चामल, ‘गोली डाइमेण्ड’ लेखिएको मदिरा ७ कार्टुन (२१० थान), खाने तेल ३ कार्टुन (१ लिटरका ३० बोतल), र ‘रकस्टार’ लेखिएको बियर २ कार्टुन (२४ बोतल) नियन्त्रणमा लिइएको हो ।
उक्त जिप सिद्धकुमाख गाउँपालिका, ४ बस्ने २४ वर्षीय चन्द्र प्रकाश बुढाथोकीले चलाएका थिए भने जिपमा वनगाड कुपिण्डे नगरपालिका, १ बस्ने ३७ वर्षीय मोहन बिसी रहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा जडित उक्त जिपमा रहेका सामग्री निर्वाचन लक्षित वितरणका लागि लैजान सकिने आशङ्काका आधारमा इ.प्र.का. देवस्थल, सल्यानबाट खटिएको प्रहरी टोलीले जिप, चालक, सवार व्यक्ति तथा सामग्री नियन्त्रणमा लिई इ.प्र.का. देवस्थलमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवराज भट्टराईका अनुसार घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।