© 2026
चन्द्रौटा (कपिलवस्तु) ।
कोरोना महामारीले संसारलाई मात्र होइन । नेपालको स्वास्थ्य संरचनालाई पनि गम्भीर रूपमा झक्झक्याईदियो ।
उपचारका लागि शहर धाउनुपर्ने बाध्यता, सीमित पूर्वाधार र दक्ष जनशक्तिको अभावले गाउँ–शहरका नागरिकलाई निकै सास्ती भएको थियो । त्यही अनुभवबाट पाठ सिक्दै संघीय सरकारले प्रत्येक प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल स्थापना गर्ने नीति अघि सारेको हो ।
सोही नीतिअनुसार कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा लुम्बिनी प्रदेशस्तरीय ५० शैय्याको सरुवा रोग अस्पताल निर्माणाधीन अवस्थामा छ । प्रारम्भिक कानुनी जटिलता र प्रक्रियागत ढिलाइका कारण सुस्त गतिमा अघि बढेको आयोजना अहिले भने तीव्र रूपमा अगाडि बढिरहेको छ ।
ढिलाइबाट गतितर्फ
जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्याङ्कन (आइईई) प्रक्रियाले निर्माण सुरु हुन झन्डै २ बर्ष ढिलाइ भएको थियो । तर अहिले निर्माण कम्पनी स्काई सगुन जेभी बुटवलले संरचना निर्माणलाई तीव्र बनाएको छ । निर्माण कम्पनीका इन्जिनियर निशान्त मण्डलका अनुसार हालसम्म करिब ५३ प्रतिशत भौतिक प्रगति भइसकेको छ । “अबको एक वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य छ”, उनले भने ।
करिब २० करोड ९६ लाख ३ हजार ३ सय २६ रूपैयाँ लागतमा निर्माण भइरहेको अस्पताल ९ बिगहा क्षेत्रफलमा फैलिएको छ । करिब ६० हजार स्क्वायर फिट सेवा क्षेत्र रहने यो अस्पताल प्रदेशकै महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधारमध्ये एक हुने स्थानीय नागरिकहरूको अपेक्षा छ ।
स्थानीयको आशा र पूर्व मन्त्री केसीको पहल
निर्माणले गति लिँदा स्थानीय बासिन्दा उत्साहित देखिन्छन् । स्थानीय खिमा गरबुजा भन्छिन्, “अब गम्भीर सरुवा रोग लाग्दा टाढा जानुपर्ने बाध्यता कम हुनेछ । आफ्नै ठाउँमा सुविधा पाइने आशा पलाएको छ ।” लुम्बिनी प्रदेशका सांसद तथा वन तथा वातावरण पूर्व मन्त्री अर्जुन कुमार केसीले यो अस्पताल क्षेत्रकै चिरप्रतिक्षित आयोजना भएको बताए ।
अस्पताल निर्माणले केवल उपचार सेवा मात्र नभई समग्र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे । “सरुवा रोगको उपचारका लागि अब प्रदेश बाहिर जानुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ ।
यहाँ अत्याधुनिक उपकरण, आइसोलेसन वार्ड र दक्ष जनशक्तिको व्यवस्था गरिनेछ”, उनले भने । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि बुटवल, भैरहवा वा भारतसम्म उपचारका लागि धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । “महामारीले दिएको चेतावनीलाई अवसरमा बदल्दै हामी बलियो स्वास्थ्य संरचना निर्माण गरिरहेका छौँ”, उनले उल्लेख गरे । प्रतिक्रियात्मक होइन, पूर्वतयारीसहितको स्वास्थ्य संरचना निर्माणतर्फ अघि बढिरहेका मन्त्री केसीले भनाइ छ ।
स्थानीय तह, प्रदेश र संघीय सरकारबिचको सहकार्यले आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । यो अस्पताल चन्द्रौटामा बनाउ आफू निकै कसरत गरेको दाबी गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा जनशक्ति व्यवस्थापन गरिने उनले बताए ।