Butwal Today

भजनमा झुम्दै बर्दघाटका युवाहरू 

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाट क्षेत्रमा पछिल्लो समय युवाहरू धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति आकर्षित हुन थालेका छन् । प्रत्येक शनिवार साँझ आयोजित हुने भजन–कीर्तन कार्यक्रममा उल्लेख्य सङ्ख्यामा युवा सहभागिता जनाउँदै भजनमा झुमेका हुन् ।

स्थानीय मन्दिर परिसरमा हुने कार्यक्रममा युवाहरूले हार्मोनियम, मादल र झ्यालीको तालमा भजन गाएर वातावरण भक्तिमय बनाएका छन् । कार्यक्रममा सहभागी युवाहरूले भजन–कीर्तनले मनमा शान्ति मिल्ने, सकारात्मक ऊर्जा प्राप्त हुने र आपसी सद्भाव बढ्ने बताएका छन् ।

यस्ता धार्मिक कार्यक्रमले समाजमा बढ्दै गएको विकृति, विसङ्गति र युवामा देखिएको नकारात्मक प्रवृत्तिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न कुलतमा फस्ने जोखिम बढिरहेका बेला भजन–कीर्तनजस्ता कार्यक्रमले युवालाई सही मार्गतर्फ डोर्‍याउने अपेक्षा गरिएको बर्दघाट ४ का समाजसेवी युवा जीवन चापागाईँले बताए  । “पछिल्लो समय केही युवाहरू गलत कर्ममा लागेका पनि छन् समाजमा,यो भजनले ती युवा पुस्तालाई पनि सकारात्मक सन्देश दिएको छ” चापागाईँले भने ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, अभिभावक तथा समाजसेवीहरूको समेत उपस्थिति रहने गरेको छ । बर्दघाट नगर भित्र भएका विभिन्न धार्मिकपिठ र मठ मन्दिरमा हरेक हप्ताको शनिवार साँझ भजन कीर्तन हुँदै आएको छ ।यसले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको छ ।

भजन कीर्तन एवम् धार्मिक कार्यक्रमहरूमा प्राय युवाहरूको सहभागिता नहुने गरेको र यसप्रति आकर्षण घटेका बेला बर्दघाटका युवाहरूले भने पृथक् सन्देश दिएका छन् । यसले मौलिकता र संस्कृतिक संरक्षणमा समेत टेवा पुर्‍याएको स्थानीयको भनाई छ । युवाहरूलाई ज्येष्ठ नागरिक र सबै उमेर समूहका व्यक्तिहरूले साथ दिएका छन् । भजनले युवाहरूलाई ऐक्यबद्ध समेत बनाएको छ ।

सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?