© 2026
गुल्मी, १७ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गुल्मीमा निर्वाचनको दिन सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज जारी गरेको सूचनाअनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको फागुन १२ गतेको निर्णयबमोजिम फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म जिल्लाभित्र सरकारी, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
कार्यालयका अनुसार अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका सवारी साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन तथा निर्वाचन प्रयोजनका लागि अनुमति प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन अस्थायी रूपमा सवारी आवागमन नियन्त्रण गरिएको उल्लेख गर्दै सम्बन्धित सबैलाई निर्णयको पालना गर्न आग्रह गरेका छन ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकाहरूसॅग आवश्यक समन्वय गरिएको जनाएको छ ।