Butwal Today

रूपन्देही क्षेत्र नं. २ मा कसैलाई आधिकारिक समर्थन छैन: राप्रपा रुपन्देही

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रूपन्देही जिल्ला कार्यसमितिले प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ मा पार्टीको तर्फबाट कसैलाई पनि आधिकारिक समर्थन नगरिएको स्पष्ट पारेको छ।

जिल्ला अध्यक्ष सागरप्रताप राणाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा क्षेत्रीय तहबाट गरिएको भनिएको समर्थन पार्टीको संगठनात्मक नीति, संरचना र अनुशासनविपरीत रहेको जनाइएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला राप्रपाले नेपाली कांग्रेसका रूपन्देही–२ उम्मेदवारलाई समर्थन गरेको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्ति जारी गर्दै उक्त समर्थन सम्बन्धी कुनै पनि औपचारिक जानकारी रुपन्देही जिल्ला कार्यसमितिलाई नदिइएको उल्लेख गरिएको छ। जिल्ला कार्यसमितिले “पार्टीले आधिकारिक रूपमा कसैलाई समर्थन नगरेको अवस्थामा क्षेत्रीय तहबाट गरिएको समर्थन पार्टीको धारणा हुन सक्दैन” भन्दै त्यस्तो कदम अस्वीकार्य रहेको स्पष्ट पारेको छ। निर्वाचन जस्तो संवेदनशील समयमा मतदातालाई भ्रमित पार्ने गतिविधिप्रति खेद प्रकट गर्दै पार्टीले आधिकारिक निर्णय नआएसम्म प्रचार–प्रसारका सामग्री प्रति सचेत रहन आग्रह गरेको छ। राणाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संगठनभित्रको आन्तरिक समन्वय र निर्णय प्रक्रियालाई बेवास्ता गर्ने कुनै पनि गतिविधि मान्य नहुने उल्लेख छ।

रूपन्देही–२ मा दलहरूबीच प्रतिस्पर्धा चर्किंदै गइरहेका बेला राप्रपाभित्र देखिएको यो प्रकरणले स्थानीय राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ। जिल्ला कार्यसमितिको स्पष्टिकरणपछि क्षेत्रीय तहको धारणा के आउँछ भन्ने चासो बढेको छ। निर्वाचन नजिकिँदै जाँदा समर्थन र सहकार्यका विषयले प्राथमिकता पाइरहेका बेला राप्रपाको यो विज्ञप्तिले पार्टीभित्र विवाद ल्याएको छ। जिल्ला कार्यसमितिले भने आधिकारिक धारणा स्पष्ट भइसकेकाले कार्यकर्ता र समर्थकलाई संगठनको निर्देशन अनुसार अघि बढ्न आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?