© 2026
परासी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ लाई यसपटक अत्यधिक चासोको रूपमा हेरिएको छ । विशेष गरी विनोद चौधरी पुनः उम्मेदवार बनेसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो ।
यो निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिकाका सबै वडा, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका सम्पूर्ण वडा तथा सरावल गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ समेटिएका छन् । निर्वाचन आयोगका अनुसार यहाँ कुल एक लाख २३ हजार ८० मतदाता रहेका छन् भने मतदानका लागि १४८ मतदान केन्द्र तोकिएका छन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका विनोद चौधरी २९ हजार ५१९ मतसहित विजयी भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए । त्यसै गरी महेन्द्र सेन (रास्वपा) ले १२ हजार ४९९, जनमतका गुलाब प्रसाद चौधरीले पाँच हजार ९५२ र राप्रपाका भोजराज ढकालले चार हजार ८२५ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ पनि नेपाली काँग्रेस अग्रस्थानमा रहँदै २३ हजार ५१५ मत पाएको थियो भने एमालेले १७ हजार १७२ मत प्राप्त गरेको थियो । रास्वपा, जनमत र राप्रपाले क्रमशः १० हजार ७१८, ७ हजार ४१४ र ६ हजार ४७७ मत पाएका थिए ।
यस पटक यस क्षेत्रबाट २६ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली काङ्ग्रेसबाट पुनः विनोद चौधरी उम्मेदवार बनेका छन् भने एमालेले रामप्रसाद पाण्डेयलाई अघि सारेको छ । रास्वपा बाट काँग्रेसका पूर्व नेता विक्रम खनाल उम्मेदवार बनेका छन् ।
त्यस्तै नेकपाबाट सिन्धु जलेसा बुढाथोकी, राप्रपाबाट नवनित कुमार मिश्र, जसपा नेपालबाट हृदयेश त्रिपाठी तथा जनमतबाट गणेश बहादुर चौधरी उम्मेदवार रहेका छन् ।
गत निर्वाचनमा एमालेको समर्थनमा प्रतिस्पर्धा गरेका हृदयेश त्रिपाठी यस पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन् भने एमालेले आफ्नै उम्मेदवार उठाएको छ । यस्तै, काँग्रेसबाट कारबाही भोगेका विक्रम खनाल रास्वपा बाट चुनावी मैदानमा उत्रिएका छन्, जसले मत विभाजनको समीकरणमा केही प्रभाव पार्न सक्ने आङ्कलन गरिएको छ ।
चौधरीले २०७९ को निर्वाचनमा गरेका प्रतिबद्धता र कार्यान्वयनको बुकलेट बनाएर मतदातासँग आगामी निर्वाचनमा क्षेत्र नम्बर १ को विकासको एजेन्डा प्रस्तुत गरिरहेका छन् । भित्री सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, नदी कटान नियन्त्रण र स्वास्थ्य शिक्षा पूर्वाधार सुधार प्राथमिकतामा थिए ।
तीन वर्षे अवधिमा चौधरीले प्रतिबद्धता गरे अनुरूपका काम केही पूरा भएको र केही पूरा गर्न बाँकी भएकाले आफू फेरि चुनावी मैदानमा उत्रिएको बताए । उनले भने, “मैले जे सोच बनाएको थिए, त्यो पूरा हुने चरणमा छ, स्वास्थ्य क्षेत्रमा महत्त्वपुर्ण काम भएका छन्, कृषि क्षेत्रका केही काम बाँकी छ त्यो पनि पूरा गर्ने मार्गचित्र तयार छ ।”
त्रिपाठीले भने यस पटकको निर्वाचनमा मुख्यतया तीन वटा पक्षलाई प्राथमिकता दिएका छन् ।
उखु किसानका समस्याहरूको स्थायी समाधान र समयमै मल बीउको सहज उपलब्धता, शिक्षा र स्वास्थ्यलाई अझ आधुनिक र सुविधा सम्पन्न बनाउने तथा प्राविधिक शिक्षाको विस्तार र पूर्वाधार क्षेत्रका अधुरा सडक सञ्जाल र निर्माणका कामहरूलाई पूर्णता दिने प्रतिबद्धता आफूले गरेको उनले बताए ।
त्रिपाठीले यस पटकको निर्वाचन आफ्नो अन्तिम भएको पनि बताए । उनले २०४८ सालदेखि निर्वाचन लड्दै आएका छन् । त्रिपाठीको यो आठौँ प्रतिस्पर्धा हो ।
रास्वपाका उम्मेदवार विक्रम खनालले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो पहिलो चुनावी मुद्दा बनाएका छन् । “सुशासन कायम गर्दै नागरिकलाई सहज सेवा प्रदान गर्नु मेरो पहिलो काम हो, जिल्लाका अन्य विकास निर्माणका कामहरू समेत म यहीको स्थानीय भएकाले समाधान गर्न सक्छु”–उनले भने । नयाँ दल अहिले मतदाताको आकर्षण बनिरहेको भन्दै खनालले निर्वाचनमा आफ्नो जित निश्चित रहेको दावी गरे ।
“मतदाता नयाँ दलप्रति आकर्षित छन्, मेरो जित हुने अवस्था देखिरहेको छु”–उनले भने । एमाले उम्मेदवार रामप्रसाद पाण्डेयले भने किसानलाई सिचाई व्यवस्था, युवाहरूलाई कृषि पेसासँग जोडी स्वरोजगार बनाउने र पर्यटकीय क्षेत्रको विकासको काम अगाडि बढाउने भन्दै मत मागिरहेका छन् । उनले भने, “निर्वाचन क्षेत्र नं. १ मा सडक सञ्जाल नपुगेको ठाउँमा सडक सञ्जाल जोड्न पहल गर्ने छु, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन कायम गर्ने पनि मेरो एजेन्डा छ ।”
यस क्षेत्रका प्रायः सबै उम्मेदवारहरूले कृषि क्षेत्रलाई मुख्य प्राथमिकताका साथ उठाएको देखिएको छ । किसानको मुद्दालाई प्राथमिकतामा राख्दा मत तान्न सक्ने आङ्कलन गरेर उनीहरूले कृषि क्षेत्रका मुद्दालाई विशेष प्राथमिकता दिएका हुने । बदलिँदो अवस्थामा कसले जित निकाल्छ भन्ने कुराको यकिन गर्न भने फागुन २१ कुर्नुपर्ने देखिएको छ ।
कतिपय विश्लेषकहरूले यो क्षेत्रमा अहिले बहुपक्षीय प्रतिस्पर्धा तीव्र बन्दै गएको आङ्कलन गरेका छन् ।