© 2026
लगभग एक महिना पहिले भारतको इलाहावादमा भएको माघ मेलाको घटना हामीमध्ये धेरैले थाहा पायौँ ।
त्यतिखेर थाहा नभएको भएमा पनि हालसालै पनि भारतीय सञ्चारमाध्यमतिर नजर गर्यौँ भने पनि त्यो विषय थाहा भइहाल्छ । सूर्य मकर राशिमा प्रवेश गर्ने समयलाई आधार मानी अर्थात् नाक्षत्रीय उत्तरायण हुने समयलाई आधार मानी विशेषत यस जम्बुद्वीप त्यसमा पनि अझ भारतवर्षमा र यस स्थानमा जन्मी विश्वका जुनसुकै कुनामा बसोबास गर्ने ॐ कार परिवारका मानिसहरूले मनाउने पर्व मकर संक्रान्ति हो ।
मकर संक्रान्ति मुख्य मानिएपनि यतिखेर चन्द्रमास अनुसारको माघका कृष्ण र शुक्ल दुवै पक्षभरी नै स्नानादि कार्य गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वासका साथ माघ महिनाभरी नै मनाउनका लागि नै माघ मेलाको आयोजना हुने गर्दछ ।
भारतमा मेलाकै रूपमा मनाउने गरिन्छ भने नेपालमा त्यस्तो मेलै नभनिएपनि तिर्थक्षेत्रमा बसोबास गरी माघस्नान गर्ने चलन हामी सनातनीहरूका माझमा रहिआएको छ । इलाहावादमा भारत तथा नेपालका ठूला ठूला सन्त महन्त आएर स्नान गर्ने प्रचलन छ । त्यही परम्परा अनुरूप त्यहाँ आद्य शङ्कराचार्यद्वारा स्थापित चारै मठका पीठाधीश स्वामीहरूको पनि स्नान हुने गर्दछ ।
धर्मरक्षाका लागि स्थापित पूर्व पश्चिम उत्तर दक्षिण सबैतिरका शङ्कराचार्यहरूको यस समयमा इलाहावादमा स्नान हुने गर्दछ । स्नानकै सिलसिलामा उत्तर ज्योतिर्मठका शङ्कराचार्य मठका पीठाधीश अविमुक्तेश्वरानन्द सरस्वतीज्यू महाराज, जसलाई सबैले ज्योतिर्मठ पीठाधीश स्वीकार गर्दैनन् उहाँले नुहाउने समयमा भएको विवादले हामी सनातनीहरूका लागि अलि अप्ठ्यारो महसुस गराएको थियो । कसैले भारतको सरकार र उत्तरप्रदेश सरकारलाई गाली गर्दै थिए त कसैले अविमुक्तेश्वरानन्द महाराजलाई नै ।
त्यसको गुह्य कुरो जे जस्तो भए पनि त्यो भिडभाडमा तामझामका पालकीमा बसेर स्नान गर्न जाँदै गरेका स्वामीजीलाई देख्दा राष्ट्र गुरु योगी नरहरिनाथलाई देखेका र उहाँका कर्महरू देखे सुनेका हामीलाई कस्तो कस्तो पक्कै लाग्यो । त्यसैले पनि राष्ट्रगुरुको सम्झना गर्ने दिनमा त्यो विषय पनि यहाँ जोडियो ।
वि.सं.१९७१ फागुन १७ गतेका दिन कालिकोटको लालुगाउँमा आमा गौरादेवी र बुबा ललितसिंह ऋक्सेन थापाको माइलो छोराका रूपमा जन्मिएका बलवीरसिंह ऋक्सेन थापा २० वर्षकै उमेरमा गोरक्ष परम्पराबाट दीक्षित योगी बन्नुभएको हो ।
अर्थात् जुम्ला जिल्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीबाट नाथ परम्परा अनुसार दीक्षित भएपछि उहाँ योगी नरहरिनाथ बन्न पुग्नुभएको हो । अधिकांश गुरुहरूले आफुले हिँडेको बाटोलाई मात्र सत्यमार्ग ठान्छन् ।
वेदोक्त सत्य सनातन धर्मको मर्म अनुरूप “ईश्वरीय बाटा अनेक गन्तव्य एक“ भन्ने कुरालाई बुझाउन सक्दैनन् । उनीहरूले नास्तिक र विधर्मीलाई सत्य सनातन धर्म र सम्प्रदायका माध्यमले भगवत्चिन्तनमा प्रवेश गराउन सक्ने त सबालै भएन, ईश्वरीय मार्गमै हिँडिरहेको व्यक्तिलाई समेत त्यो बाटो ठिक छैन यो बाटो ठिक छ भनी यी कच्चा बच्चा गुरुहरूले झनै ढुलमुल गराएर आफैको पूजा गराउन थाल्दछन् ।
तर शिवगोरक्षावतार राष्ट्र गुरु योगी नरहरिनाथ गोरक्ष परम्परामा दीक्षित भएतापनि नेपालमा वैदिक कालदेखि नै चलिरहेका कुनैपनि सनातन परम्पराका मार्गहरूलाई ओझेल पारी आफ्नै सम्प्रदायको मात्र प्रचार प्रसार तिर लाग्नुभएन ।
जसलाई पनि चेला चपेटा बनाएर हिँड्नुभएन । त्यत्रा विशिष्ट योगी एवम् विद्वान् भएर पनि कसैलाई छाता ओडाएर हिँड्नुभएन । कुनै बच्चाहरूलाई दण्ड बोकाएर हिँड्नुभएन । सबै वैदिक एवम् पौराणिक सनातन मार्गका राम्रा कुरालाई अङ्गिकार गर्नुभयो भने आफ्नै सम्प्रदायमा पनि चलाइएका केही नराम्रा कुराहरूको विरोध गर्नुभयो । त्यतिमात्र नभएर– ‘शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि ।
युक्तियुक्तं वचो ग्राह्यं न वचो गुरुगौरवात् ।।’ भन्ने नीति वाच्यलाई सधैँ अङ्गिकार गर्नुभयो । आफ्ना परम्पराका गुरुहरूका कुरा भनेर कहिले पनि असत्यलाई सत्य भन्नुभएन । जे गर्नुभयो सत्यका लागि नै गर्नुभयो । राष्ट्रका लागि गर्नुभयो । मानव धर्म अर्थात् सनातन धर्मको रक्षाको लागि नै गर्नुभयो ।
सनातन धर्मको उद्गमस्थल नेपाल पृथ्वीनारायण शाहका समयदेखि नै विधर्मीहरूको षडयन्त्रमा पर्दै आइरहेको थियो । यही कुरालाई जानेर तात्कालिक समयमा पनि पृथ्वीनारायण शाहले हामी–हामीलाई फुटाई यहाँ राज गर्न आएका केही पादरीहरूलाई देश निकाला गर्नुभएको थियो । त्यसपछि पनि पटक–पटक विधर्मीहरूका षडयन्त्र भइरहेका थिए ।
त्यसैले पनि राजाहरूमा मोज–मस्तीको अंग्रेजीपन आई जनसेवामा रिक्तता आइरहेको थियो । यस गुह्य कुराको ज्ञान तात्कालिक नेपाल प्रशासक राजा महेन्द्रलाई जानकारी गराई हिन्दू अधिराज्यका रूपमा संविधानमैँ राख्ने सल्लाह राष्ट्रगुरुले नै दिनुभएको हो ।
हाम्रै सनातन परम्परा जसले ‘विश्वधैव कुटुम्बकम्’ को भावना अनुसार काम गर्न प्रेरणा दिन्छ, ‘सर्वे भवन्तु सुखिनः’ को अवधारणा राख्दछ, त्यही परम्पराबाट विश्व शान्तिका लागि नेपालले नेतृत्व लिनुपर्दछ, नेपाललाई विश्व गुरुराष्ट्र बनाउनुपर्दछ भनी आजीवन विद्यार्थी भई अमूल्य कार्य गर्नुभयो । शास्त्रीय परम्परा अनुरूप नै नेपाली जनताले हिन्दू धर्म र बौद्ध धर्ममा कुनै पनि भेद राख्ने गरेका थिएनन् ।
नेपालका ऐतिहासिक राजाहरूले पनि बुद्ध र शिवमा कुनै भेद नदेखीकनै धार्मिक विकास गर्दै आएका थिए । शास्त्रको मर्म पनि त्यही नै थियो । शिवोऽहम् नै बुद्धोऽहम् हो भनी बुझेका थिए । तर यो एकतालाई विगारेर यहाँ धार्मिक द्वन्द्व मच्चाउने दाउमा रहेक विदेशी षडयन्त्रकारीहरूले शिव र बुद्ध फरक हो भन्ने अनि विष्णुको अवतार बुद्ध होइनन् भन्ने भेद बुद्धिको विकास गराउँदै थिए । यो कुरालाई बुझेर उहाँले तात्कालिक समयमा नै सो सम्बन्धमा यसरी व्याख्या गर्दै जनताहरूलाई सुसूचित गराउनुभएको थियो –
नमः स्वस्ति स्वाहा भणतु मणिपद्मे हुमिति वा ।
प्रकामं खं ब्रह्म प्रजपतु च शून्यं स्थिरधिया ।
शिखासूत्रे धृत्वा मसृणमथ कृत्वा निजशिरो ।
हिमाले वा माले निवसतु जनो राष्ट्रियतया ।।
अर्थात् सनातन वैदिक र बौद्धमा भेद नै छैन, जुनसुकै तरिकाले त्यो खं ब्रह्मतत्त्व अथवा शून्य ब्रह्मतत्त्वको आराधना गरे पनि राष्ट्रलाई प्रथम मानेर नै गरोस् । शिखा सूत्र धारण गरेर नमः स्वस्ति स्वाहा भन्दै खं ब्रह्मको जप गरोस् या कपाल मुण्डन गरेर मणिपद्मे हुम् भन्दै शून्यतत्वको नै चिन्तन गरोस् जे गरे पनि स्वतन्त्र तरिकाले स्थिरबुद्धिद्वारा हिमाल, पहाड वा तराई जतातिरै बसेपनि राष्ट्रलाई प्रथम मानेर गरोस् !
केही गुरुहरूलाई छोडेर यस किसिमका गुह्य कुराहरूको व्याख्या गर्दै नेपाली सनातनीहरूलाई एकजुट गराउने कार्य अहिले आफैलाई आफै गुरु लेख्दै हिँड्नेहरूले गरेको देख्नु त लगभग दुर्लभ भइसकेको छ । हिन्दू र बौद्ध एकता त धेरै परको कुरा भयो यहाँ त शिव र विष्णुमैँ भेद देखाएर चेलाहरूको धनहरण गर्ने मात्र हुन थालेका छन् ।
शिव र विष्णुमा मात्र होइन विष्णुकै अवतार राम र कृष्णमा समेत भेद देखाएर पो रोटी सेक्नेहरूको विगविगी चलिरहेको छ । उनीहरूलाई अझ मान–सम्मान चाहिने । अनावश्यक गाडी र वंगालाको मोजमजा । गृहस्थाश्रमी हुनुलाई अशास्त्रीय र गलत भनिएको यहाँ होइन तर तिनै पत्नी र बच्चाबच्चीको पालनपोषणका लागि नै धार्मिक कथाका अनेक बहानाबाजी । असुहाउँदो लवाई, खबाई, मानसम्मान अहिलेका गुरुहरूको देख्दा उनीहरूलाई भन्दा उनीहरूको आचरण देख्नेलाई लाज लाग्ने परिस्थिति बनेको छ ।
यसै प्रसङ्गमा राष्ट्रगुरुले गरेका यज्ञको उद्देश्य विश्वकल्याणका लागि एवम् राष्ट्रकल्याणका लागि हुन्थे भने अहिलेका यज्ञका उद्देश्य केही स्वामीजीहरू र गुरुहरूलाई छोडेर अधिकांश गुरुजीहरूका आफ्नै परिवार कल्याणका लागि हुने गरेका छन् ।
उहाँका यज्ञमा गुहरूलाई सुहाउँदो पारिश्रमिक दिएर धर्मरक्षाको कोश बनाइन्थ्यो तर अचेलका यज्ञमा गुरुहरूलाई असुहाउँदो पारिश्रमिक दिएर धर्मरक्षाको कोश रित्तै हुने गर्दछ । राष्ट्र गुरु योगी नरहरिनाथका समयमा योगी र विद्वान्हरू हुनुहुन्नथ्यो भन्न खोजिएको हैन । तर सबै क्षेत्रको विद्वान् चाहिँ राष्ट्र गुरु योगी नरहरिनाथ नै हुनुहुन्थ्यो । गोरक्षपरम्परामा रहेको मृगस्थली स्थित गोरक्षनाथ मन्दिरका महन्तमा अभिषिक्त हुनुहुन्थ्यो । तात्कालिक समयमा उहाँलाई रथारोहण गराएर महन्त बनाइएको थियो ।
माथि पनि भनिए जस्तै उहाँले चाहनुभएको भए उहाँ जीवनभर पालकीमा बसेर अरूलाई छाता ओडाएर, दण्ड समाउन लगाएर हिँड्नुहुन्थ्यो । तर उहाँले कहिले पनि त्यसो गर्नुभएन । सरल नै भएर राष्ट्रको आत्मा धर्मको भन्ने बुझेर राष्ट्र र धर्मका लागि जीवन निर्वाह गर्नुभयो ।
उहाँलाई मान सम्मानले मात्र होइन कि शीर्षकमा भनिएजस्तै अपमानले पनि केही छुन सकेन । कसैले राजाको मान्छे भनेर अपमान गरे, कसैले कम्युनिष्टको मान्छे भनेर अपमान गरे, कसैले भारतीय जोगी भनेर अपमान गरे, कसैले आर्यसमाजी भनेर अपमान गरे । त्यति मात्र कहाँ हो र सरकारले जेल नै हाल्यो । राजाले पनि ठूलो अपमान गरे । त्यसले उहाँमा कत्ति पनि नैराश्यता आएन ।
धर्मका मर्म बुझाएर जनतालाई सुखी बनाउने उहाँको अभियानमा कत्ति पनि विचलन आएन । न मान–सम्मानले नै छोयो न त अपमानले नै छोयो । त्यसैले त हाम्रा राष्ट्रगुरूप्रति प्रत्येक नेपाली जो हामी निराकार एकै ब्रह्मका साकार विभिन्न रूप हरि–हर–बुद्ध–किरातका सन्ततिका रूपमा आफ्नो परिचय दिई शिर उचो गर्दछौँ । ती सबै हामीको मस्तक उहाँप्रति सधैँ झुक्ने गरेको छ ।
ती मान अपमान भन्दा धेरै टाढाका राष्ट्रनिधि राष्ट्रगुरूप्रति हार्दिक श्रद्धासुमन । आदेश ।