© 2026
फागुन २१ गतेको ऐतिहासिक निर्वाचन आउन अव चार दिन मात्रै बाँकी छ ।
निर्वाचन प्रचार प्रसारको अवधि सोमबार राती १२ बजेदेखि समाप्त हुँदै छ । अव यही बेला हो– निर्वाचनप्रति आम मतदाता उत्कट अभिलाषासहित निर्वाचनको लागि आफ्नो विवेक प्रयोग गर्ने समय ।
त्यसो त यो निर्वाचन विशेष परिस्थितिमा हुन लागेकोले यो निर्वाचनको विशेष महत्त्व छ । खासगरि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले गरेको दिशानिर्देश अनुसार यो ऐतिहासिक निर्वाचन हुन लागेकोले यसको फरक महत्त्व छ ।
खासगरि युवाहरूमा यो निर्वाचनले उल्लास सिर्जना गरेको छ । जेनजी युवाहरूमा निर्वाचनप्रतिको लगाव र झुकाव अहिले धेरै देखिएको छ । विगतका निरासा र विचलन चिर्ने यो निर्वाचनमा जेनजी युवाहरूको काँधमा ठूलो जिम्मेवारी छ । जेनजी आन्दोलनपछि युवाहरूमा राजनीतिप्रति क्रेज बढेको छ । फलतः उनीहरूमा जोश–जाँगर, उत्साह र क्रियाशीलता बढेको छ ।
युवाहरू राजनीतिमा आस्था र निष्ठा अनि इमान्दारिताका साथ होमिएकै कारण विगतका ऐतिहासिक आन्दोलनले बहुदलीय व्यवस्था पुनस्र्थापना ग¥यो, राजा ज्ञानेन्द्रको राजशाहीलाई अन्त्य ग¥यो र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । राजनीतिक चेतना भएका हरेक युवायुवती आफ्नो भविष्य र ज्यानको परवाही नगरी आन्दोलनमा होमिए ।
हरेक युवा वर्गको राजनीतिमा आकर्षण यति वढ्यो कि राजनीतिमा संलग्न नभएकाहरूले साथ संगत नै पाउने अवस्था थिएन । त्यो निष्ठा, त्याग–तपस्या र योगदानको परिणाम संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति हो ।
तर, संघीयता प्राप्तिपछि मुलुकमा परिवर्तनको अपेक्षा गरेका युवाहरूमा नैराश्यता देखियो । मुलुक जुन रफ्तारमा अघि बढ्न्पर्ने हो, त्यो हुन सकेन । छोटो समयमै युवाहरूमा विचलन देखियो । जसको फलस्वरूप मुलुकले जेनजी आन्दोलनको सामना गर्नुप¥यो ।
आखिर किन त ? यो प्रश्नको उत्तर खोज्नेहरूले युवाहरूको मनोविज्ञान बुझ्ने कोसिस गर्नुपर्दछ । दल पिच्छेका युवा विद्यार्थी संगठन त छन तर ति केवल औपचारिकतामा आधारित वा यान्त्रिक प्रकृतिका मात्र देखिन्छन् । निर्वाचनको बखतमा यदाकदा देखिने सक्रियताले साँचो अर्थमा सवै युवाहरूको प्रतिनिधित्व हो भन्न सकिदैन ।
दलहरूले पनि युवालाई उत्साहित गराउन, उनीहरूको भविष्यप्रति बेवास्ता गर्दाको परिणाम जेनजी विष्फोट हो । युवाहरूलाई विगतदेखि नै अनेक ललिपप दिएर झुक्याउने काम भयो र उनीहरूलाई अवसरभन्दा बढी दुरूपयोग गरियो ।
आफ्नो दल वा गुटका कुनै नेताले जस्तोसुकै गल्ती वा कमजोरी गरे पनि सहेर बस्ने र चर्को स्वरमा सर्मथन गर्ने प्रवृत्तिले अर्को एउटा युवाहरूको समूह जसले त्यो शैलीप्रति वितृष्णा देखाउँछ उनीहरू पलायन हुने अवस्था आएको हो ।
पछिल्लो जेनजी आन्दोलनले युवालाई जबरजस्त रूपमा राजनीतिमा तानेको छ । अव युवाहरूमा देखिएको राजनीतिको मोह कुनैपनि अवस्थामा बिकर्षण हुन नपाओस् । युवालाई निष्ठा, इमान्दारिता, मूल्य र मान्यतामा आधारित बनाउनु जरुरी छ ।
युवालाई सही मार्गमा लगाउने वा उनीहरूको भविष्यको ग्यारेन्टीको सवाल सही ढंगले सम्वोधन गरिनुपर्दछ ।
युवालाई हरेक क्षेत्रमा अवसर र सहभागिता दिनुपर्दछ । नेपालमा युवाहरूको संख्या कूल जनसंख्याको करिव ४० प्रतिशत छ तर समावेशी र सहभागितामूलक हिसावले उनीहरूलाई सधै पछाडी पारिएको छ । अव समय धेरै छैन । निर्वाचनको समय नजिक आएकोले युवाले दिने एउटा मतले देशको भविष्य कोर्ने मार्गचित्र बन्नसक्छ । तसर्थ युवाहरूको मतमा देशको भविष्य कोर्ने सुनौलो रेखा छ ।
अतः युवाहरू यो निर्वाचनमा निर्णायक हुनेछन् । युवाहरूको मत सस्तो लोकप्रियतामा नबिकोस् । क्षणिक आवेगमा हुने निर्णयले आम नेपाली जनताले जीवनभर पछुताउनु नपरोस् । आजका जेनजी युवा जगतले सघन विचार गर्ने बेला आएको छ ।