Butwal Today
निर्वाचन २०८२

डिजिटल पपुलिजमको प्रभाव: नेतृत्व छनोटको निर्णायक मोडमा नेपाल

१६ फाल्गुन २०८२, शनिबार
अ+
अ-

नेपालको वर्तमान राजनीतिक परिवेश एउटा गहिरो संक्रमणकालबाट गुज्रिरहेको छ ।

२०८२ सालको निर्वाचन संवैधानिक प्रक्रिया मात्र होइन, यो लोकतान्त्रिक संस्कार, राजनीतिक नेतृत्वको गुणस्तर र नागरिक चेतनाको परिपक्वताको परीक्षणका रूपमा स्थापित हुँदै गएको छ ।

सामाजिक सञ्जालको तीव्र प्रभाव, जेनजी पुस्ताको राजनीतिक सक्रियता र वैकल्पिक राजनीतिक शक्तिहरूको उदयले नेपालको राजनीति नयाँ दिशातर्फ मोडिएको देखिन्छ । तर यही परिवर्तनशील अवस्थाले एउटा गम्भीर प्रश्न उठाएको छ– के डिजिटल लोकप्रियता र पपुलिस्ट प्रचारबाट वास्तवमै सक्षम र दूरदर्शी नेतृत्व निर्माण सम्भव छ ?

राजनीतिक असन्तुष्टि र विकल्पको आधार

राजनीति बाह्य रूपमा स्थिर देखिए पनि समाजको चेतना,आकाङ्क्षा र अपेक्षा निरन्तर परिवर्तन भइरहन्छ । जब राजनीतिक दलहरू जनताको बदलिँदो आवश्यकता र आकाङ्क्षालाई बुझ्न असफल हुन्छन्, समाजले विकल्पको खोजी सुरु गर्छ ।

यस्तो विकल्प आकस्मिक राजनीतिक घटना होइन, दीर्घकालीन असन्तुष्टि, निराशा र सुधारको चाहनाबाट जन्मिने सामाजिक प्रक्रिया हो । नेपालमा मुख्य विषय राजनीतिक अस्थिरता, सुशासनको अभाव, बर्षौदेखिको भ्रष्टाचारप्रतिको वितृष्णा, शक्ति केन्द्रित राजनीतिक संरचना र शासनप्रतिको अविश्वासले पुरानाले सकेनन् नयाँले गर्छौँ भन्दै वैकल्पिक शक्तिहरू बढिरहेका छन् ।

तर विकल्पको खोजी गर्दा विवेकभन्दा भावना हाबी हुने प्रवृत्तिले लोकतान्त्रिक निर्णय प्रक्रियालाई चुनौती दिएको देखिन्छ ।

जेन–जीआन्दोलनः परिवर्तनको सङ्केत कि अस्थिरताको द्वन्द्व ? 

लोकतान्त्रिक इतिहासमा राजनीति नयाँ अध्यायका रूपमा देखिएको छ ।

प्रविधिमा दक्ष, सूचनामा छिटो पहुँच राख्ने र पारदर्शिताको माग गर्ने जेनजी पुस्ताले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिएको छ । यसले लोकतन्त्रमा नयाँ सङ्केत, ऊर्जा र सहभागिता थपेको छ । तर जेन–जी आन्दोलनको अर्को यथार्थपनि देखिन्छ ।

आन्दोलन प्रायः भावनात्मक ऊर्जा, आक्रोश र तत्काल परिवर्तनको अपेक्षाबाट प्रेरित देखिएको छ । राज्य सञ्चालन भने संस्थागत अनुभव, नीतिगत स्पष्टता र दीर्घकालीन रणनीतिमा आधारित हुने प्रक्रिया हो । आन्दोलनलाई नीति र संस्थागत सुधारमा रूपान्तरण गर्न नसकिएमा त्यो क्षणिक प्रभावमा सीमित रहने सम्भावना रहन्छ । अहिलेका जेन्जी बिद्रोहपनि कताकता तुहिएको हो कि देखिन्छ ।

यो युवा आक्रोशले मागेको के थियो ? देशमा भै दियो के । पछिल्ला राजनीतिक घटनाक्रमले आन्दोलनहरू स्पष्ट रणनीति र नेतृत्वबिना अघि बढ्दा तिनलाई विभिन्न स्वार्थ समूहहरूले परिचालन गर्न सक्ने जोखिम रहेको इतिहासको विभिन्न कालखण्डमा देखिन्छ ।

पछिल्ला आन्दोलनहरूमा देखिएको हिंसा, विध्वंस र सामाजिक ध्रुवीकरणले नेपालको राजनीतिक संरचनामा गहिरो असन्तुलन रहेको सङ्केत दिएको छ । राजनीतिक रूपान्तरण हुन नसक्नु, शक्ति केन्द्रित दलगत प्रतिस्पर्धा र भूराजनीतिक संवेदनशीलताको असन्तुलन यस्ता घटनाका प्रमुख कारणका रूपमा देखिन्छन् ।

आन्दोलनको अग्रमोर्चामा युवा पुस्ता देखिए पनि आन्दोलनको दिशा, नेतृत्व र परिणामबीच देखिएको विचलनले आन्दोलनलाई विभिन्न शक्तिहरूले प्रभावित गरेको थियो । यसले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनतालाई अझै संकटमा पार्ने देखिन्छ ।

२०८२ को निर्वाचनः डिजिटल राजनीतिको प्रयोगशालाः

२०८२ को निर्वाचनले नेपाली राजनीतिमा नयाँ प्रवृत्ति देखाएको छ ।

विभिन्न पेशा, व्यवसाय र डिजिटल प्लेटफर्मबाट चर्चित व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नुले नागरिक समाजको राजनीतिक चासो बढेको सङ्केत दिन्छ । तर यसले राजनीति सेवा हो कि व्यक्तिगत लोकप्रियता विस्तार गर्ने माध्यम हो भन्ने बहसलाईपनि तीव्र बनाएको छ ।

सामाजिक सञ्जाल अहिले निर्वाचन प्रचारको प्रमुख माध्यम बनेको छ । राजनीतिक अभियान नीति र कार्यक्रमभन्दा बढी डिजिटल छ । विनिर्माणमा केन्द्रित देखिन्छ । यसले लोकतान्त्रिक बहसलाई सतही र भावनात्मक बनाउने जोखिम बढाएको छ ।

डिजिटल प्रविधि र पपुलिजमको भ्रमले सक्षम नेतृत्व बाहिरिन सक्ने प्रवल सम्भावना छ । सामाजिक सञ्जालले लोकतन्त्रलाई पहुँचयोग्य बनाएको छ । नागरिकले आफ्ना धारणा स्वतन्त्ररूपमा व्यक्त गर्न सक्ने वातावरण बनेको छ ।

तर डिजिटल प्रविधिको राजनीतिक प्रयोगले केही गम्भीर चुनौतीहरू पनि सिर्जना गरेको छ ।

लोकप्रियताको कृत्रिमता नेतृत्वको वास्तविक मापदण्डः 

डिजिटल माध्यमले व्यक्तिलाई छिटो लोकप्रिय बनाउन सक्छ । तर लोकप्रियता नेतृत्व क्षमताको प्रमाण होइन ।

राज्य सञ्चालनका लागि प्रशासनिक दक्षता, कूटनीतिक सन्तुलन र नीतिगत गहिराई आवश्यक हुन्छ । डिजिटल प्लेटफर्ममा राजनीतिक विमर्श तथ्य भन्दा भावना र प्रतिक्रियामा आधारित हुने प्रवृत्ति बढेको छ । यसले विवेकपूर्ण मत निर्माण प्रक्रियालाई कमजोर बनाउँछ ।

डिजिटल प्रचारले सरल नारालाई प्राथमिकता दिन्छ, जबकि शासन सञ्चालन जटिल नीतिगत निर्णयमा आधारित हुन्छ । यसले अव्यावहारिक वाचा र क्षणिक लोकप्रियतालाई बढावा दिन्छ ।

नेपालको भूराजनीतिक अवस्था, आर्थिक चुनौती र सामाजिक विविधता व्यवस्थापन गर्न सक्षम नेतृत्व आवश्यक छ । यस्तो नेतृत्व लोकप्रियतामा होइन, दीर्घकालीन नीतिगत दृष्टि संस्थागत शासन प्रणाली, कूटनीतिक सन्तुलन र रणनीतिक क्षमता नैतिकता, पारदर्शिता र उत्तरदायित्व डिजिटल प्रचारले यी गुणहरूको वास्तविक परीक्षण गर्न सक्दैन तर सार्वजनिक छ विनिर्माण गर्न सक्छ ।

पछिल्लो समय विभिन्न पेशा र क्षेत्रका युवावर्ग तथा व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नु सकारात्मक सङ्केत हुन सक्छ । तर राजनीति सेवा उत्तरदायित्व र दीर्घकालीन सामाजिक परिवर्तनको क्षेत्र हो । यदि राजनीति व्यक्तिगत प्रतिष्ठा, आक्रोश वा लोकप्रियता विस्तारको माध्यम बन्न थाल्यो भने लोकतान्त्रिक प्रणाली कमजोर बन्ने जोखिम देखिन्छ ।

डिजिटल पपुलिजमको चपेटमा लोकतन्त्रः 

आसन्न निर्वाचन नजिकिँदै जाँदा डिजिटल पपुलिजमको प्रभाव उल्लेख्यरूपमा बढेको छ ।

उम्मेदवारहरूले परम्परागत सभा–समारोहसँगै फेसबुक, टिकटक, युट्युब र एक्स जस्ता सामाजिक सञ्जालमार्फत आफ्ना सन्देश तीव्रगतिमा प्रवाह गरिरहेका छन् । छोटो भिडियो, भावनात्मक अभिव्यक्ति र ट्रेन्डिङ नारामार्फत मतदाताको ध्यान आकर्षित गर्ने होडबाजी चलेको देखिन्छ । अहिलेको परिवेशमा एल्गोरिदमको बढ्दो प्रभावले सामाजिक संजाल अप्राकृतिक भैसकेको छ ।

डिजिटल माध्यमले जनसहभागिता विस्तार त गरेको छ तर देशलाई निकाश दिने योग्य नेतृत्व छनौटलाई भने भ्रममा पारेको छ। विशेषगरी युवा मतदातामाझ डिजिटल प्लेटफर्म मुख्य अभियान स्थल बनेको छ । यसले नयाँ र वैकल्पिक नेतृत्वलाई अवसर दिएकोछ तर नेपाली जनतालाई नेतृत्व छनौटमा कतै भ्रम त पारिरहेको छैन ? डिजिटल पपुलिजमको सकारात्मक पक्षसँगै चुनौतीहरू पनि गम्भीररूपमा देखिएका छन् ।

तथ्यपरक बहस भन्दा भावनात्मक र उत्तेजक सामग्री बढी भाइरल हुने प्रवृत्तिले योग्य नेतृत्व ओझेलमा पर्ने खतरा बढेको छ । गलत सूचना, सम्पादित भिडियो र अपुष्ट दाबीले मतदातालाई भ्रमित पार्ने जोखिम पनि बढ्दो छ ।

केही अवस्थामा डिजिटल लोकप्रियतालाई नै नेतृत्वको क्षमता मापनका रूपमा प्रस्तुत गरिँदा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठ्न थालेका छन् । डिजिटल पपुलिजम लोकतन्त्रका लागि अवसर र चुनौती दुवै हो । सामाजिक सञ्जालले पारदर्शिता र उत्तरदायित्व बढाउन सक्छ, तर यदि यसलाई जिम्मेवारीपूर्वक प्रयोग गरिएन भने यसले समाजमा ध्रुवीकरण र असहिष्णुता बढाउने सम्भावनापनि उत्तिकै रहन्छ ।

यस निर्वाचनमा डिजिटल प्रभाव निर्णायक बन्ने सङ्केत देखिएसँगै मतदाताले सूचनाको सत्यता जाँच्ने र विवेकपूर्ण निर्णय गर्ने आवश्यकता अझ बढी देखिएको छ । हाल नेपालको वर्तमान राजनीतिक अवस्था अवसर र चुनौतीको संगम बनेको जेन–जी आन्दोलनले उठाएको परिवर्तनको आवाज लोकतन्त्रका लागि सकारात्मक सङ्केत हो ।

तर यदि यो आन्दोलन डिजिटल लोकप्रियता र पपुलिस्ट भाष्यमा सीमित रह्यो भने स्थायी राजनीतिक सुधार सम्भव नहुन सक्छ । सामाजिक सञ्जालले नायक देखाउन सक्छ, तर सक्षम नेतृत्व निर्माण गर्न सक्दैन । राष्ट्र निर्माण डिजिटल पपुलिज्म र लोकप्रियताको लहरबाट होइन, नीतिगत स्पष्टता, दूरदृष्टि, नैतिकता र उत्तरदायित्वबाट सम्भव हुन्छ ।

लोकतन्त्रको भविष्य डिजिटल ट्रेन्डले होइन, विवेकपूर्ण नागरिक निर्णयले निर्धारण गर्नेछ । नेपालको राजनीतिक भविष्यपनि त्यही नागरिक चेतनाको परिपक्वतामा निर्भर रहनेछ । २०८२ को निर्वाचनले नेपाली लोकतन्त्रलाई नयाँ दिशा दिने सम्भावना बोकेको छ ।

सामाजिक सञ्जाल र डिजिटल प्रविधि लोकतान्त्रिक सहभागिताको सशक्त माध्यम भएपनि नेतृत्व छनोटको आधार बन्न सक्दैन । मतदाताले उम्मेदवारको व्यक्तित्व भन्दा बढी उसको नीति, कार्ययोजना, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वलाई मूल्याङ्कन गर्न आवश्यक छ । हालको अबस्थामा लोकतन्त्रको स्थायित्व विवेकपूर्ण मतदातामा निर्भर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?