© 2026
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू !
नेकपा (एमाले) को दर्शन माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवाद ! श्रमजीवी, किसान, राष्ट्रिय पूँजीपति र पछाडि परेका वर्ग मूलपक्षधरता । समग्र विभेदको अन्तय गर्दै ’समृद्ध नेपालः सुखी नेपाली’ निर्माण यसको कार्यक्रमसहित समाजवादमा पुग्ने लक्ष्य। यही मूल मर्मलाई आत्मसात गर्दै हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले)को नेतृत्वमा मुलुकमा पूर्वाधारसहित सर्वाङ्गीण विकासका काम तीव्र गतिमा अगि बढाउँदै गर्दा नवपुस्ताका भाइबहिनीहरूले उठाएका जायज मुद्दासहितको जुलुसमा एकाएक घुसपैठ गरी शान्तिपूर्ण विरोधलाई अराजक र हिंसात्मक बनाउने काम भयो ।
कलिला बालबालिकालाई गलत रूपमा प्रयोग गरी उनीहरूलाई मर्न विवश गराउने देशीविदेशी प्रतिक्रियावादी तत्त्व थियो । यस तत्त्वले नवपुस्ताका युवाहरूलाई मराउने काम मात्र गरेन, देशका प्रशासनिक, न्यायिक र ऐतिहासिक भवनहरूलाई खरानीमा परिणत गर्यो ।
यही अराजकताको फाइदा उठाउँदै मुलुकलाई लामो समयदेखि अराजकता र अस्थिरतामा धकेल्न चाहने तत्त्वले गैरसंवैधानिक रूपमा जननिर्वाचित सरकार र संसद विघटन गरी बुख्याँचा सरकार बहाली गर्यो । चुनाव गराउने जिम्मेवारी लिएको यस अप्राकृतिक सरकारमा कस्ता मान्छे थिए भन्ने कुरा सरकारको मन्त्री पद छाडेर अमुक दलबाट चुनाव लड्न उत्रेबाट यिनीहरूको असली रूप उदाङ्गो भएको छ ।
नव पुस्ताले अगि सारेको विरोध पारिएका ती होनहार भाइबहिनीमा हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूले उठाएका सुशासन र जुलुसमा मर्न बाध्य भ्रष्टाचारमुक्त नेपाल निर्माणको मुद्दामा एकताबद्ध भएको घोषाणा गर्दछौं ।
नेकपा एमाले निर्वाचनबाट भाग्ने पार्टी होइन । त्यसैले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागलाई जारी राख्दै पार्टी निर्वाचन तयारीमा अगि बढिरहेको छ । वर्तमान राजनीतिक सन्दर्भमा यो निर्वाचन केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा होइन, राजनीतिक स्थिरता, आर्थिक पुनरुत्थान र सुशासन सुनिश्चित गर्ने निर्णायक अवसर हो । यो निर्वाचन सत्ता परिवर्तन मात्र होइन, विकासको दिशा परिवर्तन गर्ने आधार हो ।
यसैक्रममा रूपन्देही क्षेत्र नं. ३ बाट विकासप्रेमी, कर्मठ, जुझारू नेता क. बासुदेव घिमिरे लाई पार्टीले प्रतिनिधिको रूपमा अगि सारेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रथम नगरप्रमुख र संघीय सांसदको रूपमा अनुभव संगाल्नु भएका उम्मेवारलाई पार्टीले अगि सारेको छ ।
यस निर्वाचनमा हाम्रा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउनुहुन यस क्षेत्रका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा विनम्र अनुरोध गर्दै निर्वाचनमा विजय हासिल गरेपछि संघीय, प्रदेश र स्थानीय सरकारहरूसँगको सहकार्य र समन्वयमा यस क्षेत्रमा निम्न कार्यहरू गरी जनताले भोग्दै आएका समस्या समाधान गर्नेप्रतिबद्धता जाहेर गर्दछौं । आदरणीय मतदाताहरू !
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिकाका दुई ओटा वडा, सियारी गाउँपालिकाका ५ ओटा वडा, ओमसतिया गाउँपालिकाको एउटा वडा, शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिकाका ६ ओटा वडाहरू गरी जम्मा ३६ ओटा वडा समावेश भएको यस क्षेत्रको सन्तुलित, समन्यायिक र समग्र विकासका लागि हामीले प्राथमिकतामा राखेका प्रतिबद्धताहरू यसप्रकार छन्:
१. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पर्यटनः
– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमता तथा दिगो रूपमा संचालनमा ल्याउन नीतिगत प्रबन्ध गरिनेछ ।
– यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन यहाँका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थानहरूको सञ्जाल निर्माण गरिनेछ ।
– क्षेत्रीय पर्यटन करिडोर निर्माण गरी होमस्टे, होटल तथा सेवा व्यवसाय प्रवर्धन गरिनेछ ।
-बेलहिया नाका हुँदै भित्रिने पर्यटकहरूलाई शक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश भएको अनुभूति हुने गरी भौतिक तथा मानवीय विकास गरिनेछ ।
-डण्डा करिडोरलाई निर्माण गरी सौन्दर्यकरण र बोटिङसहितको पर्यटकीय क्षेत्रमा रूपन्तरण गरिनेछ ।
– मोतिपुर थारू संग्राहलयको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
– बैठौलिया कपरकट्टी ताललाई थप व्यवस्थित गरी स्थानीयस्तरमा रोजगारीका अवसरहरूसँग आवद्ध गरिनेछ ।
– नरैनापुर धामलाई व्यवस्थित गरी धर्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ ।
– बुटवल–१५ मा रहेको राष्ट्रिय परोपकार कुञ्जधामको विकास र प्रवर्धन गरिनेछ ।
-बाउन्नकोटी सामुदायिक वनभित्र रहेका नन्दभाउजू ताल, ऐतिहासिक मन्दिर र पिकनिक स्पटलाई सौन्दर्यकरण गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ। साथै सियाभार मन्दिर, ऐतिहासिक दरवाह क्षेत्र र बौद्ध विहारको थप विकास गरी पर्यटन प्रवर्धन गरिनेछ ।
२. सडक यातायातः
-रणनीतिक महत्व र महत्वपूर्ण सडकहरूको स्तरोन्नती गरी कालोपत्रे गरिनेछ।
– सिनपा–८ बसडिलवा, चिलिया, कैलाशनगर, जीतपुर, देवीनगर, अमुवा हुँदै सूर्यपुरा जोड्ने सडक स्तरोन्नतिको कार्यलाई पहल गरिनेछ ।
– सिद्धार्थ राजमार्गको ओमसतिया लखनचोकदेखि कैलाशनगर, बाउन्नकोटी, सुपौली सडक स्तरोन्नति गरी कालोपत्रे गरिनेछ ।
-बुटवल–बेलवास–बेथरी सडकलाई निर्माण सम्पन्न गरी सौन्दर्यकरण गरिनेछ ।
– तामनगर, फर्साटिकर, बनघुषडी, छपिया हुँदै बेथरी निस्कने सडकको स्तरोन्नति गरिनेछ ।
– वुटवलको रामनगर, योगिकुटी, मोतिपुर, मोतिनगर, महदैया चोक हुँदै बनकट्टा जोड्ने सडकको निर्माण कार्य सम्पन्न गरिनेछ ।
– केदली, भुजौली हुँदै कोटहीसम्मको सडकलाई स्तरोन्नति गरी कालोपत्रे गरिनेछ ।
-मोतिनगर बेलभरिया, उजेलापुर, महदैया चोक हुँदै मुक्तिघाटसम्मको सडक निर्माण सम्पन्न गरिनेछ ।
– सेमलार इमिलिचोक– कृष्णगञ्ज सडक निर्माण गरिनेछ ।
-मोतिपुर–कृष्णगञ्ज सडक कालोपत्रे गरिनेछ ।
– ओमसतिया–२ मा रहेको राजमार्गदेखि लक्ष्मीनारायणपथ हुँदै सियारी–१ को कोटहीमाई जाने सडक कालोपत्रे गरिनेछ ।
– ओमसतिया–३ नौडिहवादेखि वडा नं–२ को कार्यालय वर्दिहवा, पानगाढ, दक्षिण जीतपुर हुँदै सिनपा जोड्ने सडक कालोपत्रे गरिनेछ ।
– मायादेवीको लुम्बिनी सडकबाट हिमाली पथ हुँदै शान्ति पथ जोडिने बाटो व्यवस्थित गरिनेछ ।
– पत्थरडाँडा–तिनाउ सडक निर्माण कार्य गुणस्तरीय रूपमा शीघ्र सम्पन्न गरिनेछ ।
-सियारीको रामगञ्ज चौकीदेखि गनहरी पुलसम्म, कुर्मारदेखि लक्ष्मीपुरसम्म, सर्जुगञ्जदेखि मोहनगञ्जसम्मको बाटो कालोपत्रे गरिनेछ ।
-बेलबास–पत्थरगञ्ज–मैनहिया सडक निर्माणलाई निरन्तरता दिइनेछ ।
– कोटिहवा, सुपौली हुँदै तिनाउ सडकको स्तरोन्नति गरिनेछ ।
– तिलोत्तमा –१४ बनकट्टी, टिकुलीगढ गाउँ, टिकुलीगढ हेल्थपोष्ट, दुर्गानगर हुँदै सुपौली जाने सडक स्तरोन्नत टिकुलीगढ गरिनेछ ।
३. शिक्षाः
-सामुदायिक विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि नीतिगत पहल गरिनेछ ।
– मदरसा, गुरूकुललगातयत सम्पूर्ण धार्मिक शैक्षिक संस्थाको संरक्षण, भौतिक विकास तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गरिनेछ ।
-पक्लिहवा कृषि क्याम्पसको शैक्षिक स्तर वृद्धि गरी स्नातकोत्तर शिक्षण संस्थाको रूपमा विकास गरिनेछ ।
-वुटवल–१५ को नवरत्न माविमा वि.एस.सी. एजी. सञ्चालन गर्न पहल गरिनेछ ।
-टिकुलिगडको जनता मावि र फर्साटिकर माविलाई बहुप्राविधिक शिक्षालयको रूपमा विकास गरिनेछ साथै बेदवेदाङ्ग विद्यापीठमा उच्च शिक्षाका कक्षा सञ्चालनका लागि पहल गरिनेछ ।
४. स्वास्थ्यः
– जिल्ला अस्पतालको रूपमा रहेको भीम अस्पतालको सेवालाई स्तरोन्नति गरी थप विशेषज्ञ सहितको सेवा प्रदान गर्न सक्षम बनाइनेछ ।
– मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालको रूपमा विकास गरिनेछ ।
-यस क्षेत्रमा रहेका सरकारी स्वास्थ्य संस्थाहरूलाई आवश्यक उपकरण, भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन सहित प्रभावकारी सेवा प्रदान गर्न सक्षम बनाइनेछ ।
– स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नीतिगत कार्यान्वयनमा जोड दिइनेछ ।
५ कृषि, पशुपालन तथा सिंचाइः
– कृषि पेशालाई सम्मानजनक, आधुनिक प्रविधियुक्त र व्यावसायिक बनाउन उपयुक्त कदम चालिनेछ ।
– किसानलाई समयमै मलखाद, बीउबिजन, प्राविधिक परामर्श उपलब्ध गराइनेछ ।
– बुटवल–१५ मा शीत भण्डार सहितको अत्याधुनिक कृषि उपज केन्द्र निर्माण गरिनेछ । साथै कृषि उत्पादनको बजारीकरणको ग्यारेन्टी गर्न पहल गरिनेछ ।
-कृषि तथा पशु बिमा कार्यक्रमलाई प्रभावकारी र कृषकमैत्री बनाइनेछ ।
-कृषि उत्पादनका आधारमा अनुदानलाई प्रोत्साहन गरिनेछ ।
– परम्परागत चार तपाह सिँचाइ योजना (पाँच मौजा, खडवा र ११ मौजा) को मूल नहर र शाखा नहरहरूलाई व्यवस्थित गर्दै भैलुभूजपका नहर र बोरिङको स्तरोन्नति गरिनेछ ।
– यस क्षेत्रका कृषि तथा मत्स्य पकेट जोनहरूलाई थप व्यवस्थित गरिनेछ ।
– नहरबाट सिँचाइ नहुने कृषियोग्य भूमिका लागि डीप ट्युबेलबाट सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।
– दुध उत्पादक किसानको व्यावसायिक सुरक्षा र दुधजन्य उत्पादनको बजारीकरणको सुनिश्चितता गरिनेछ ।
– छाडा चौपाया तथा वन्यजन्तुका कारण कृषि उत्पादनमा क्षति भैरहेको सन्दर्भमा यसको निराकरणका लागि स्थायी समाधान खोजिनेछ ।
– परम्परागत रूपमा चलिआएका कृषि हाटबजारहरूलाई स्तरीय र व्यवस्थित बनाइनेछ ।
– कृषिमा यान्त्रीकरण र चक्लाबन्दी खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
६. अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या:
-भूमि आयोगसँग समन्वय गरी भूमिहीन र अव्यवस्थित बसोबासीसम्बन्धी समस्याको दिगो समाधान गरी पूर्जा वितरण गरिनेछ ।
-मोतिपुर औद्योगिक क्षेत्रसँग सम्बन्धित समस्याको समाधानका निम्ति त्यस क्षेत्रका जनताको सुझाव र सल्लाहमा उचित समाधान पहिल्याई औद्योगिक क्षेत्र निर्माण कार्य तदारूकता साथ अगि बढाइनेछ ।
– भूउपयोग नीतिलाई प्रभावकारी बनाइ लागू गरिनेछ ।
७. सरसफाइ, ढल निकास तथा तटबन्धः
– तिनाउ, दानव, डण्डा लगायतका नदी, ताल, खोला तथा घोलामा तटबन्ध गरी बस्ती र कृषिलाई सुरक्षित गरिनेछ ।
-फोहर व्यवस्थापनका निम्ति क्षेत्रीय रूपमा संभाव्यता अध्ययन गरी उचित स्थानमा प्रशोधन केन्द्र निर्माण गरिनेछ ।
– तिनाउ र दानव नदीमा तटबन्ध गरी ग्रिनरीसहितको करिडोर निर्माण गरिनेछ ।
– सिद्धार्थनगरका विभन्न स्थानमा देखिने डुबानको समस्या न्यूनीकरणका लागि ठोस कदम चालिनेछ ।
-ओमसतिया–२ र मायादेवी–८ मा देखापर्ने डुबान प्रवाहित क्षेत्रमा उचित निकासको व्यवस्था मिलाइनेछ ।
– सहरी क्षेत्रमा नियमित सघन सरसफाइ र सौन्दर्यकरणका कार्यहरू अभियानका रूपमा संचालन गरिनेछ ।
– मायादेवी–८ मा वर्षातमा हुने डुबानको समस्यालाई आवश्यक ढलनल निर्माण गरी उचित र दिगो व्यवस्थापन गरिनेछ ।
८. युवा तथा खेलकुद विकासः
– ’युवाको हात, समृद्धिको साथ’ भन्ने नाराका साथ युवाहरूलाई रोजगारमूलक प्राविधिक सीप सहित उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारको सुनिश्चितता गर्ने नीतिमा काम गरिनेछ ।
– स्वरोजगार बन्न चाहने युवाहरूलाई सहुतियतपूर्ण लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरिनेछ ।
– बैदेशिक रोजगारबाट फर्किएका युवाहरूको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलतासँग जोड्न उपयुक्त वातावरण निर्माण गरिनेछ ।
-यस क्षेत्रका खेल मैदानहरूलाई थप व्यवस्थित बनाउँदै स्तरोन्नति गरिनेछ ।
-भैरहवामा रहेका सिद्धार्थ रंगशाला र दर्खसवा खेलमैदानलाई थप व्यवस्थित गरिनेछ ।
– वुटवल–१६ मा रहेको क्रिकेट खेल मैदानको स्तरोन्नति गरिनेछ ।
– खेलाडीहरूको बिमा तथा विभिन्न स्थानहरूमा खुला व्ययमशालहरू निर्माण गरिनेछ ।
९. सम्पदा:
– यस क्षेत्रका सम्पूर्ण मठमन्दिर, गुम्बा, बिहार, डिउहार, मस्जिदलगायतका धार्मिक सम्पदाहरूको उचित संरक्षण तथा प्रवर्धन गरिनेछ ।
– धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको प्रवर्धन र प्रचार प्रसार गरी पर्यटनसँग आबद्ध गरिनेछ ।
– विभिन्न स्थानमा रहेका पार्कहरू, ऐतिहासिक पोखरी, कुवा, तालतलैयाहरूको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गरिनेछ ।
– स्थानीय आदिबासी तथा जनजाति समुदायको कला, संस्कृति जगेर्ना गर्दै होमस्टेलाई प्रवर्धन गरिनेछ ।
१०. पुल पुलेसाहरूः
– निर्माणाधीन पुलहरूको शीघ्र निर्माण सम्पन्न गराइनेछ ।
– हाल भएका साँघुरा पुलपुलेसाहरूलाई सवारी चापको मूल्याङ्कनका आधारमा फराकिलो बनाइनेछ।
– सिनपा–१० र मायादेवी–७ जोड्ने कजवे भएको स्थानमा पुल निर्माण गरिनेछ ।
– मनहरापुर झोलुङ्गे पुल रहेको स्थानमा निर्माणाधीन तिनाउ नदीको पक्की पुल शीघ्र सम्पन्न गरिनेछ ।
-बुटवल–१४ बाट बुटवल–१३ को यातयात कार्यालय जाने दानव नदीमा बेलीबृज निर्माण गरिनेछ ।
११. आर्थिक विकासः
– भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
– एकीकृत भन्सार जाँच चौकीको शीघ्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइनेछ ।
– बेलहिया नाका तथा भैरहवा भन्सार कार्यालयलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाइनेछ ।
– मोतिपुर औद्योगिक क्षेत्रसँग सम्बन्धित समस्याको उचित समाधान पहिल्याई औद्योगिक क्षेत्र निर्माण कार्य तदारूकता साथ अगि बढाइनेछ ।
– खुला सीमाका कारण स्थानीय व्यावसायीले भोग्नु परेका समस्या समाधानका लागि उचित कदम चालिनेछ ।
– निजी तथा सहकारी क्षेत्रलाई प्रोत्साहन गरी लगानीको वातावरण निर्माण गर्दै स्थानीय स्तरमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गरिनेछ ।
– यस क्षेत्रमा रहेका उद्योग, कलकारखाना तथा कामदारहरूका समस्याहरूको पहिचान गरी समाधानको पहल गरिनेछ ।
– सहकारीहरूको अनुगमनलाई प्रभावकारी बनाउँदै जनताको बचत अपचलन हुन नदिन आवश्यक व्यवस्था मिलाइनेछ ।
– एकीकृत ग्रामीण तथा सहरी पूर्वाधार बिकास योजनालाई अगाडि बढाइनेछ ।
१२. सामाजिक सुरक्षा एवं समावेशीकरणः
-ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ ।
– सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सरलीकृत गरिनेछ ।
– विभिन्न स्थानमा ज्येष्ठ नागरिक मिलन केन्द्र र बालउद्यान निर्माण गरिनेछ ।
-सार्वजनिक निकायहरूमा अपाङ्गतामैत्री संरचना निर्माणमा विशेष पहल गरिनेछ ।
– समाजमा विद्यमान छुवाछुत, लैङ्गिक तथा सबै प्रकारका विभेदहरूको अन्त्य गरिनेछ ।
– परम्परागत सीप, पेसा अङ्गालेका तथा राज्यको मूल प्रवाहबाट पछाडि परेको वर्ग, समुदायलाई मूलधारमा समाहित गरिनेछ ।
– समाजका हरेक निकायहरूमा महिला सहभागिताका लागि विशेष पहल गरिनेछ ।
– बालमैत्री तथा लैङ्गिकमैत्री समाज निर्माणका लागि पहल गरिनेछ ।
– नेपालको प्रचलित कानुनबमोजिम नागरिकता प्राप्त गर्ने सिलसिलामा वास्तविक नेपालीलाई पर्न आउने असहज परिस्थितिलाई सहजरूपमा नागरिकता प्राप्तिको व्यवस्था मिलाइनेछ ।
१३. सुशासन र पारदर्शिताः
– सुशासन, सूचनाको हक र भ्रष्टाचार निवारणसँग सम्बन्धित कानुन कार्यन्वयनमा नेतृत्वदायी भूमिका खेलिनेछ ।
-सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती विचौलिया प्रवृतिको अन्त्य गरिनेछ । साथै कागजी तथा प्रकृयामुखी झण्झटिलो कार्यप्रणालीलाई सरलीकृत गर्न पहल गरिनेछ ।
– भ्रष्टाचारमा शून्य सहनशीलता कामय गरिनेछ।
१४. विविधः
– बुटवल–१६ मा रहेको मुक्तिघाट शवदाह स्थल, सियारीमा रहेको गुरूङ स्वर्गद्वारी समाधी स्थललगायतका विभिन्न समुदायका समाधिस्थलहरूको आवश्यक व्यवस्थापनमा जोड दिइनेछ ।
– मोतिपुर क्षेत्रको सुरक्षालाई सम्बोधन गर्ने गरी उचित स्थानमा प्रहरी चौकी स्थापना गर्न पहल गरिनेछ ।
-मायादेवी–७ मा विद्युत आपूर्तिमा देखापरेको समस्याको दिगो समाधान गरिनेछ ।
– आर्सेनिकयुक्त पानी विस्थापित गरी स्वच्छ खानेपानीको पहुँच बढाइनेछ ।
-सहरी क्षेत्रमा भूमिगत विद्युत लाईन विस्तार सुरूआतका निम्ति पहल गरिनेछ ।
– प्राकृतिक स्रोत साधन र सामुदायिक वनको दिगो व्यवस्थापन गरी त्यसको लाभको समन्यायिक वितरण प्रणाली विकास गरिनेछ ।
१५. सूचना तथा संचार प्रबिधिः
– सरकारी कार्यालयमा सूचना प्रविधिमा आधारित सेवा वितरणलाई जोड दिइनेछ ।
-सूचना र संचार प्रविधिको विस्तार गरी ई–लाइब्रेरी निर्माण गरिनेछ ।
– महत्वपूर्ण क्षेत्रमा निः शुल्क वाइफाइको व्यवस्था मिलाइनेछ ।