© 2026
दोहा, कतार ।
नेपाल मगर संघ, केन्द्रीय कार्यालय काठमाडौँबाट वैदेशिक शाखाका रूपमा मान्यता प्राप्त नेपाल मगर संघ, शाखा कतारले संघको ४४औँ स्थापना दिवस विविध कार्यक्रम मनाएको छ । कार्यक्रममा मगर समुदायका अगुवा, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपालका प्रथम सहिद लख्खन थापा मगरको स्मृतिमा दीप प्रज्वलन गर्दै तथा केक काटेर स्थापना दिवस कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा संघको स्थापना इतिहासबारे कार्यक्रम संयोजक दीपक एक्चाई मगरले जानकारी गराउँदै नेपाल मगर संघ कहिले, कहाँ र किन स्थापना गरिएको भन्ने विषयमा प्रष्ट पारेका थिए ।
वक्ताहरूले २०३९ साल फागुन १५ गते विश्वभर रहेका मगर समुदायलाई एकीकृत गर्दै पहिलो महाधिवेशन सम्पन्न भएको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको उल्लेख गरे । उनीहरूले मगर समुदायको भाषा, संस्कृति, पहिचान तथा अधिकार संरक्षणमा संघले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रमका अवसरमा साहित्यकारहरूले गजल तथा मुक्तक वाचन गरेका थिए ।
संघको मातहतमा रहेको सहानिया एरिया समितिका सचिव भावना पुन मगर कतार बसाइँ समाप्त गरी नेपाल फर्किन लागेकाले उनलाई सम्मानपत्र प्रदान गर्दै विदाइ गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राकेश श्रेष्ठले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल मगर संघको ४४ वर्षे यात्राले समुदायको पहिचान संरक्षण र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले मगर समुदायको ऐतिहासिक पृष्ठभूमि, मौलिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा संघ निरन्तर सक्रिय रहेको उल्लेख गरे । साथै कतारमा रहेका विभिन्न जनजाति समुदायबीच सहकार्य र एकता सुदृढ बनाउन संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष समीर थापा मगरले स्थापना दिवसले विश्वभर रहेका मगर समुदायलाई एकताबद्ध बनाउँदै मौलिक कला, संस्कार र परम्परा संरक्षणप्रति प्रेरित गरेको बताए । विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवाद व्यक्त गरेका थिए ।