काठमाडौँ ।
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्ने बताएका छन् ।
काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले आज यहाँ आयोजित कार्यक्रममा राजनीतिभित्र देखिएका तमाम विकृति सफा गरेर अगाडि बढ्ने सङ्कल्पसहित पार्टी अगाडि बढिसकेको बताए ।
महामन्त्री पौडेलले काँग्रेसका पक्षमा देशभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए । “पार्टीभित्र रूपान्तरणको सुरुआत भएको छ । यसले देशभर उत्साह थपिएको छ । यो उत्साहलाई देश रूपान्तरण गर्ने प्रक्रियामा जोड्छौँ । देशमा रहेका समस्या समाधानका लागि नयाँ ढङ्गले अगाडि बढ्छौँ”, उनले भने ।
महामन्त्री पौडेलले देशैभरका काँग्रेसका कार्यकर्ताहरूलाई रूपान्तरणको सन्देश र देश विकासको दृष्टिकोण लिएर मतदातामाझ पुग्न आग्रह गरे । रासस