© 2026
भैरहवा ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा नेपाल पर्यटन भवन मुक्तिनाथ आश्रम भवनको शिलान्यास गरिएको छ । धार्मिक तथा सामाजिक सेवाको उद्देश्यसहित निर्माण हुन लागेको आश्रमको शिलान्यास श्रद्धा र उत्साहका साथ गरिएको हो ।
कार्यक्रममा परम श्रद्धेय अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) ज्यूको संकल्पगत नेतृत्वमा आश्रम निर्माण थालिएको हो । “मानव सेवा नै माधव सेवा हो” भन्ने मूल नारासहित नेपाल, भारत तथा अन्य देशबाट धार्मिक पर्यटकका निम्ति आउने तीर्थयात्रीहरूलाई निःशुल्क आवास तथा भोजन व्यवस्था गर्ने उद्देश्यसहित ‘श्रीमुक्तिनाथ सन्त सेवाश्रम’ निर्माण गरिएको आयोजको भनाइ छ ।
श्री मुक्तिनाथ बाबा कमल नयन आचार्यले कथा वाचन गर्दै मानवसेवा नै सच्चा धर्म भएको बताए। त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णुप्रसाद पौडेलले धार्मिक पर्यटन प्रवर्द्धनमा आश्रमले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
स्वामी कृष्ण प्रपन आचार्य गणेश उपाध्यायले असक्त, सीमाक्षेत्रमा दुःख भोगेका तथा आश्रयविहीन व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले आश्रम निर्माण गरिएको स्पष्ट पारे ।
कार्यक्रम संयोजक मङ्गल भण्डारीले सबैको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरे भने अध्यक्ष कृष्णप्रसाद शर्माले आश्रमलाई समाजसेवाको केन्द्रका रूपमा विकास गर्न एकजुट हुन आग्रह गरे ।