© 2026
अर्घाखाँची ।
प्रतिनिधि सभा सदस्यका लागि यही फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा प्रमुख राजनीतिक दलहरूले अत्यावश्यक विकासका योजना र वन्यजन्तुबाट कृषकले भोग्दै आएको बाली क्षतिको समस्या यस पटकको चुनावी साझा मुद्दा बनाएका छन् ।
फरक–फरक राजनीतिक विचारधारा बोकेका दलहरूबिच स्थानीय सरोकारका विषयमा देखिएको समानता मतदाताका लागि चासोको विषय बनेको छ ।
जिल्लाबाट चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले वन्यजन्तु नियन्त्रण तथा बाली संरक्षण नीति प्रभावकारी रूपमा लागु गर्ने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो समय बाँदर, बँदेल, दुम्सी लगायतका वन्यजन्तुको आतङ्कका कारण कृषकले लगाएको मकै, गहुँ, तरकारी बाली नष्ट हुँदै आएको छ । खेतीयोग्य जमिन बाझिँदै जानुका साथै ग्रामीण बस्ती रित्तिँदै गएको ठहर गर्दै दलहरूले किसानको बाली जोगाउन दीर्घकालीन नीति, क्षतिपूर्ति व्यवस्था र आवश्यक प्रविधिको प्रयोगमा जोड दिएका छन् ।
भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता पनि सबै दलका साझा एजेन्डामा परेको छ ।
विकास निर्माणका योजनामा पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्दै सुशासन कायम गर्ने उनीहरूको भनाइ छ । स्थानीय तहदेखि सङ्घीय संरचनासम्म सुशासनको अभ्यासलाई कडाइका साथ लागु गर्ने दाबी उम्मेदवारहरूले गरेका छन् ।
दीर्घकालीन आर्थिक रूपान्तरणसँग जोडिएको नौमुरे जलविद्युत आयोजना यथाशीघ्र कार्यान्वयनमा ल्याउने विषय पनि प्रमुख साझा एजेन्डा बनेको छ । ऊर्जा उत्पादनमार्फत रोजगारी सिर्जना र क्षेत्रीय विकासलाई गति दिने विश्वास दलहरूले व्यक्त गरेका छन् ।
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, गोरुसिङ्गे–सन्धिखर्क सडक र गच्छे–भालुवाङ सडक जस्ता रणनीतिक सडक योजनालाई तीव्रता दिने प्रतिबद्धता समेत दोहोरिएको छ । यी सडकहरूले अर्घाखाँचीलाई राष्ट्रिय राजमार्ग सञ्जालसँग सुदृढ रूपमा जोड्ने र कृषि उपजको बजारीकरण सहज बनाउने अपेक्षा गरिएको छ ।
कृषि, पशुपालन र पर्यटनलाई रोजगारीको मुख्य आधार बनाउने योजनामा पनि दलहरू एकमत देखिएका छन् । युवालाई सीप, प्रविधि र सहुलियतपूर्ण ऋणमार्फत स्वरोजगारतर्फ उन्मुख गराउने, कृषि उत्पादनमा आधुनिकीकरण र व्यवसायीकरण प्रवर्द्धन गर्ने तथा दुग्ध, मासु र फलफूल उत्पादनमा आत्मनिर्भरता बढाउने कार्यक्रम अघि सारिएका छन् ।
धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटन प्रवर्द्धन गर्न पर्यटन सर्किट निर्माण गर्ने योजना पनि प्राथमिकतामा राखिएको छ ।
जिल्लाका मठमन्दिर, ऐतिहासिक स्थल र प्राकृतिक सम्पदालाई जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने रणनीति उम्मेदवारहरूले सार्वजनिक गरेका छन् । यसबाट स्थानीय स्तरमै आयआर्जनका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।
स्थानीय मुद्दामा केन्द्रित साझा प्रतिविद्धताले अर्घाखाँचीको निर्वाचन प्रतिस्पर्धालाई विकासमुखी बहसतर्फ उन्मुख गराएको छ । अब मतदाताले घोषणापत्रमा उल्लेखित योजना कार्यान्वयन गर्ने दृढता र विश्वसनीयताको आधारमा निर्णय गर्ने तयारी गरेका छन् ।
जिल्लाको दीर्घकालीन समृद्धिका लागि उठाइएका यी साझा मुद्दा व्यवहारमा कत्तिको रूपान्तरण हुन्छन् भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिला सहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीका १२ जना र ३ जना स्वतन्त्र गरी १५ जना प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रकाश पौडेलले जानकारी दिए । जसमा पुरुष ८७ हजार १ सय ५७ जना र महिला ८४ हजार ४ सय ९५ जना रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १०२ मतदान स्थल र २०९ मतदान केन्द्र रहेका छन् ।
जिल्लामा उठेका नेकपा एमाले, नेपाली काँग्रेस, रास्वपा र नेकपाका उम्मेदवारहरू सबै जिल्लामै बसेर सङ्गठन निर्माण तथा विकास निर्माण, जनताका सुख दुःखमा भिजेका उम्मेदवार छन् । जसका कारण पनि फागुन २१ गते हुने निर्वाचनको नतिजा फलानै पार्टीको उम्मेदवारले जित्छ भनेर धारणा बनाउन सकिँदैन ।
दलहरू घरदैलो तथा निर्वाचन केन्द्रित सभाहरूमा दलका नेता तथा उम्मेदवारहरू मत आफूतर्फ आकर्षित गर्नमा व्यस्त छन् ।
जनतालाई भेटेर आफू र आफ्नो पार्टीको उम्मेदवारलाई विजयी गराउन उनीहरू जिल्लाका गाउँ केन्द्रित अभियानमा छन् । नेकपा एमाले विगत वर्षदेखि जित्दै आएको आफ्नो वर्चस्व कायम गर्ने दाउमा छ । काँग्रेस लामो समयदेखि जित विहीन बन्दै गएकोले यो पटक जित्ने दाउमा छ ।
रास्वपा र नेकपा पनि आफूहरूले जित्ने दाबी गर्दै आएका छन् । २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम) लाई १७ सय ३० मतान्तरले पराजित गरेका थिए ।
२०७९ सालको निर्वाचनको नतिजा हेर्दा अर्घाखाँचीमा नेकपा एमाले नेपाली काँग्रेस भन्दा १० हजार भन्दा बढी मतले अगाडि छ । उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको थियो ।
नेपाली काँग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थानमा रहेको थियो । ८ हजार ९ सय ५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो । नेकपा माओवादी केन्द्रले ७ हजार ३ सय ४२ मत ल्याउँदै चौथो भएको थियो ।
राष्ट्रिय जनमोर्चाले ५ हजार ३ सय २७ मत र नेकपा (एकीकृत समाजवादी) ले १ हजार ६७ मत ल्याएको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेपाली काङ्ग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) को उम्मेदवारी दर्ता भएको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका मुस्कान चुनावी मैदानमा होमिएका हुन् । नेकपा एमालेबाट पीताम्बर भुसाल प्रतिस्पर्धामा छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका भुसाललाई एमालेले उम्मेदवारी बनाएको हो ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि प्रसाद भुसाल, नेकपा माओवादीबाट खिम बहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह चुनावी प्रतिस्पर्धामा छन् ।
महिला उम्मेदवार स्वतन्त्रबाट एक जनाको मात्र परेको छ । पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
त्यस्तै मङ्गल नेशनल अर्गनाइजेसन पार्टीबाट सुर्य बहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णु बहादुर गाहा, स्वतन्त्रबाट हिमाल भुसालले उम्मेदवारी दिएका छन् ।