© 2026
बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी दिएका छन् । शुक्रबार (फागुन १५) रुपन्देहीको बुटवलमा आयोजित पार्टीको चुनावी सभामा उनले नयाँ नेपालको नाराकै भरमा माओवादी संसद्को ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन् ।
“०६४ सालमा यसैगरी माओवादीले पुरानाले बिगारे, हामी बनाउँछौँ भन्यो । उसको नयाँ नेपालको नारा बिक्यो । हामीले लामालामा कुरा गर्यौँ, उसले हामी नयाँ बनाउँछौँ भन्यो,” थापाले भने, “नयाँ नेपाल बनाउने नारा लाएर आएको माओवादीले संविधान पनि बनाउन सकेन । अन्त्यमा कांग्रेस आएर संविधान बनाउनुपर्यो । देशको पाँच वर्ष खेर गयो ।”
यसपटक पनि चुनावअघिको वातावरण त्यस्तै नाराबाट प्रभावित भएको उनले बताए । “अहिले त्यस्तै भएको छ । पुराना र नयाँको नारा लागेको छ । पुरानाले बिगारे, हामी बनाउँछौँ भनेको छ,” उनले भने, “सडक बनेन, बाँधेर हुन्छ कि ठिगुरा ठोकेर हुन्छ, टाइममा बनाउँछु भनेको सुनिन्छ ।”
उनले समस्याको पहिचान नगरी कसैलाई ठिगुरा ठोक्दैमा काम हुन नसक्ने बताए । “भैरहवामा प्लेन झरेन भने कसैलाई ठिगुरा ठोकेर हुँदैन, नझर्ने कारणको खोजी गर्नुपर्छ, समस्याको निवारण गर्न सक्नुपर्छ,” थापाले भने, “भौतिक पूर्वाधार विकासको गति बढाउन ४१ वटा कानुन संशोधन गर्नुपर्ने जरुरी छ । कसैले भन्छ– ठेकेदारलाई थुनेर भए पनि समयमा काम गराउँछु । व्यक्तिका कारण काम रोकिएका छैनन् । सिस्टममा सुधार नगरी विकासले गति लिने अवस्था छैन ।”
उनले भोलि नपछुताउनका निम्ति कांग्रेसलाई भोट माग्न नेता–कार्यकर्तालाई आग्रह गरे । “आजको दिनमा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण छैन । तपाईंहरू हरेक घरघरमा पुग्नुस् । एउटा उमेदवार मात्र लडेर पुग्दैन । तपाईंहरू हरेक उमेदवार बन्दिनुस्,” उनले भने, “कांग्रेसलाई भोट हालेर पछुताउनु पर्दैन । कसैलाई गाली नगर्नुस्, सामाजिक सञ्जालमा लेख्नुस् । उत्साहका साथ जनताको घरदैलोमा पु्ग्नुहोस् । अब हामीसँग जनतालाई बुझाउन धेरै समय बाँकी छैन ।”