© 2026
बुटवल ।
निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेलले यति बेला घरदैलो अभियानलाई उच्च प्राथमिकताका साथ अघि बढाएका छन्। दैनिक जसो विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका उनले विकासका ठोस योजनासहित मत मागिरहेका छन् ।
बुटवल उपमहानगरपालिका–९ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले कालिकापथलाई रात्रिकालीन बजारका रूपमा विकास गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरे । उनले कालिकापथलाई दिनरात सञ्चालन हुने व्यवस्थित व्यापारिक केन्द्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पूर्वाधार विस्तार गरिने बताए ।
उनका अनुसार कालिकापथ क्षेत्रमा हाल जथाभाबी रहेका विद्युत्, टेलिफोन तथा इन्टरनेटका तारहरू भूमिगत गरिनेछन् । “सहरको सौन्दर्य र सुरक्षालाई ध्यानमा राख्दै सबै तारहरू व्यवस्थापन गरिनेछ,”उनले भने, “यसले सडकलाई सुरक्षित र आकर्षक बनाउनेछ ।” साथै उनले उक्त क्षेत्रमा बुटिक शैलीका आधुनिक सडक बत्ती जडान गरिने जानकारी दिए । रात्रिकालीन बजारको अवधारणा सफल बनाउन मोनोपोलहरूमा हाइमास्ट लाइट जडान गरी उज्यालो र सुरक्षित वातावरण निर्माण गरिने उनले बताए ।

उनले कालिकापथलाई व्यापारिक केन्द्र मात्र नभई पर्यटक आकर्षणको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको स्पष्ट पारे। स्थानीय उत्पादन, हस्तकला, खानपान तथा सांस्कृतिक कार्यक्रमलाई समेटेर सजीव बजारको अवधारणा अघि सारिएको उनले बताए । यसबाट स्थानीय व्यवसायी, युवा उद्यमी तथा साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।
घरदैलोका क्रममा उनले बुटवलको दीर्घकालीन विकासका लागि तिनाउ नदी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरे । तिनाउ नदीको दायाँ–बायाँ तटबन्ध गरी सुरक्षित बनाउने, बाढी नियन्त्रण गर्ने र ठाउँ–ठाउँमा जलाशयका रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउने योजना उनले सार्वजनिक गरे । “तिनाउलाई व्यवस्थित गर्दै सौन्दर्यीकरण गरियो भने बुटवललाई पर्यटकीय नगरका रूपमा स्थापित गर्न सकिन्छ,”उनले भने ।
उनले नदी किनार क्षेत्रमा हरित पार्क, पदमार्ग, साइकल लेन तथा विश्राम स्थल निर्माण गर्ने योजना समेत रहेको जानकारी दिए । यसले स्थानीय बासिन्दालाई मनोरञ्जन स्थल उपलब्ध गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले सडक, ढल, खानेपानी, ट्राफिक व्यवस्थापन र रोजगारीका विषयमा आफ्ना माग तथा सुझाव राखेका थिए । उम्मेदवारले ती समस्याहरू समाधान गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै आफ्नो उम्मेदवारी विकास र समृद्धिको निरन्तरताका लागि भएको बताए ।
निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा दलहरूबिच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । उम्मेदवारहरूको घरदैलो, सभा तथा अन्तरक्रियाले चुनावी माहोल थप सशक्त बनेको छ । स्थानीय मतदाताहरू भने विकासका ठोस कार्यक्रम र कार्यान्वयन क्षमताका आधारमा आफ्नो निर्णय गर्ने तयारीमा देखिएका छन् ।