Butwal Today

आवश्यक बचतद्वारा अपाङ्ग दिवा स्याहार केन्द्रलाई सहयोग

१४ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

बुटवल ।

आवश्यक बचत तथा ऋण सहकारी संस्था, बुटवलले पुल्चोकस्थित तिनाउ नदी किनारमा रहेको अपाङ्ग दिवा स्याहार केन्द्रलाई आवश्यक सामग्री सहयोग गरेको छ ।

सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष तथा अक्षयकोष निर्माणकर्ता नुरुदिन साहाले असहाय तथा असक्त अपाङ्ग बालबालिकाको सहयोगमा सबैको सहभागिता आवश्यक रहेको बताए । “हामीले नगरे कसले गर्ने रु” भन्ने प्रश्न उठाउँदै उनले सक्षम व्यक्तिहरूले असहायको सहारा बन्नु नै पुण्य कार्य भएको धारणा व्यक्त गरे ।

सहकारीका निवर्तमान अध्यक्ष मनोज श्रेष्ठले सानो–सानो सहयोगले पनि दुःखी तथा विपन्नको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिने बताए । समाजमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै उनले मानसिक रूपमा सक्षम भए पनि शारीरिक रूपमा अशक्त व्यक्तिका लागि थप सहयोग आवश्यक रहेको धारणा राखे ।

संस्थाका अध्यक्ष सुमन श्रेष्ठले आर्थिक अभावका कारण शिक्षा र आधारभूत आवश्यकताबाट वञ्चित अपाङ्ग बालबालिकाको सहयोगका लागि सहकारीले सामग्री प्रदान गरेको जानकारी दिए । उनले सेवा भावनालाई केन्द्रमा राखेर सहयोग गरिएको स्पष्ट पारे ।

केन्द्रका अध्यक्ष सैलेस थापाले शारीरिक रूपमा अशक्त तर मानसिक रूपमा सक्रिय बालबालिकाका लागि विद्यालयको व्यवस्था गर्नु आजको आवश्यकता भएको बताए । घरमा बच्चा बिरामी हुँदा परिवारमा तनाव उत्पन्न हुने उल्लेख गर्दै उनले जन्मजात अपाङ्गता भएका बालबालिकाको उचित स्याहार–सुसार र शिक्षाका लागि दिवा स्याहार केन्द्र स्थापना गरिएको जानकारी दिए । केन्द्रमा हाल १० जना बालबालिका आवद्ध छन् । यहाँ उनीहरूलाई नियमित व्यायाम गराउने, पढ्न–लेख्न सिकाउने लगायतका गतिविधि सञ्चालन हुँदै आएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सहकारीका सचिव राजकुमार गुप्ता लगायतले सहकारीहरूले आफ्नो मुनाफाबाट केही अंश सामाजिक सेवामा खर्च गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?