© 2026
चन्द्रौटा (कपिलवस्तु) ।
निर्वाचन आउन केही साता मात्र बाँकी रहँदा चुनावी सरगर्मी बढेको छ । यसै सन्दर्भमा कपिलवस्तु–३ मा पनि महोल निकै रोचक बनेको छ ।
क्षेत्र नम्बर ३ मा मात्रै ३६ जना उम्मेदवार छन् । विभिन्न राजनीतिक दलका सहित स्वतन्त्र सबै उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजना अघि सार्दै प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
समाज परिवर्तनमा भूमिका बढाउन बहुपक्षीय प्रतिस्पर्धाका कारण विशेष चासोको केन्द्र बनेको हो ।
भूमि र कृषि: एमालेको विकास
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार वीरेन्द्र कुमार कनौडियाले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई समग्र क्षेत्रको दीर्घकालीन विकासका लागि भएको स्पष्ट पारेका छन् ।
एमालेको स्पष्ट नीति, कार्यक्रम र बलियो सङ्गठनकै कारण जनतामा भरोसा बढेको उनले दाबी गरे ।
कनौडियाले विशेष गरी सकुम्बासी व्यवस्थापनलाई वैज्ञानिक र कानुनी आधारमा समाधान गर्ने, वास्तविक भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने तथा व्यवस्थित बस्ती विकास गर्ने योजना अघि सारेका छन् ।
“भूमि समस्या समाधान नभएसम्म समृद्धि सम्भव हुँदैन” उनले भने, “हामी दीर्घकालीन समाधानसहित अघि बढेका छौं ।” कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै उनले सिँचाइ विस्तार, मल–बीउको सहज उपलब्धता, कृषि बिमा, भण्डारण केन्द्र तथा बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।
परम्परागत खेतीलाई प्रविधिमैत्री बनाउँदै उत्पादन वृद्धि र आयआर्जन बढाउने लक्ष्य रहेको उनको भनाइ छ । शिक्षा क्षेत्रमा गुणस्तरीय पठनपाठन, प्राविधिक शिक्षा विस्तार र सामुदायिक विद्यालय सुदृढीकरणमा जोड दिने उनले बताए । साथै, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा पहुँच, सडक पूर्वाधार र खरको छाना मुक्त अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
बेरोजगार युवालाई सीपमूलक तालिम, साना तथा मझौला उद्योग प्रवर्द्धन र उत्पादनमुखी कार्यक्रममार्फत रोजगारीमा जोड्ने स्पष्ट योजना रहेको कनौडियाले बताए । “युवा शक्तिलाई अवसर दिन सके देशको आर्थिक अवस्था आफैं सुदृढ हुन्छ,” उनले भने ।
विगतमा समुदाय स्तरमा गरेका कामको नागरिकले सकारात्मक मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै उनले यस पटक जितको आधार अझ बलियो भएको दाबी गरे । कनौडियाले मतदातालाई विकास, पारदर्शिता र जबाफदेहिताको पक्षमा उभिन आग्रह गर्दै जनताको चाहना र अपेक्षाअनुसार काम गर्ने दृढ प्रतिबद्धता दोहो¥याए ।
कानोडिया ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जलस्रोत राज्यमन्त्री बनेका थिए ।
पुस्तान्तरणको सन्देश
यस्तै नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्राताप शाहले जेनजी आन्दोलनपछि कांग्रेसले नयाँ नेतृत्व पाएको बताए ।
अहिलेको पुस्ता परम्परागत राजनीतिक शैलीभन्दा परिणाममुखी काम र पारदर्शिता खोजिरहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न आफू चुनावी मैदानमा उत्रिएको उनले बताए ।
युवाले केही नयाँ खोजेको बताउँदै देशलाई समृद्ध, रोजगार र विकास गर्नका निम्ति उम्मेदवारी दिएको उनले बताए ।
विगतमा चुनाव हारेपछि ३ वर्षदेखि जनताका बिचमा रहेको बताउँदै जनताका काम गरेकोले जित्ने विश्वास रहेको शाहले जनाए । शाह ०६४ र ०७० मा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए ।
उत्पीडितको आवाज
अर्का उम्मेदवार ईश्वर दयाल मिश्र यसपालि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (चकिया) बाट चुनावमा उत्रिएका छन् ।
उनी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा चुनावी मैदानमा होमिएका हुन् । “शोषित, पीडितलाई न्याय दिलाउन हो । अहिले धेरै कुरामा पछाडि परेको छ ।
केही काममा अगाडि रहेको भए पनि सिँचाइसँगै यो क्षेत्र विकसित गर्न मेरो उम्मेदवारी हो”–उनले भने । जित्ने आधार जनमानसमा रहेको बताउँदै विगतमा जनतासँग प्रत्यक्ष जोडिएर गरेको कार्य मूल्याङ्कन गर्ने उनले विश्वास व्यक्त गरे । यस क्षेत्रमा सुखशान्ति अमनचयन कायम गर्ने आफ्नो योजना रहेको उम्मेदवार मिश्र बताउँछन् ।
परिवर्तनको नारा
यता नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एहसान अहमद खाँले बेरोजगारी, बेथितिका लागि आफूले उम्मेदवारी दिएको बताए । गरिब जनताले जित्ने आधार रहेको बताउँदै परिवर्तन खोजेका कारण आफूले जित्ने दाबी उनले गरे ।
नौमुरे सिचाँइ योजना पूरा गर्ने बताउँदै प्रदेशस्तरीय बाल तथा प्रसूती अस्पताल सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । उनी ०७९ मा लुम्बिनी प्रदेश सभा ३ (१) मा पराजित भएका थिए ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका मङ्गलप्रसाद गुप्ता विजयी भएका थिए । उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिषेक प्रताप शाहलाई साढे तीन हजारभन्दा बढीको मतान्तरले हराएका थिए ।
एमालेका गुप्ताले २२ हजार ६ सय १९ मत ल्याएर विजयी हुँदा उनका निकट प्रतिस्पर्धी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा अहिले कुल १ लाख १८ हजार ४०४ मतदाता छन् ।