© 2026
भैरहवा ।
सिबी पब्लिक हाई स्कुलको विद्यालय परिसरमा बिहीबार साँस्कृतिक भोजन तथा साँस्कृतिक पोशाक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई आफ्नै मौलिक संस्कृति, खानपान र पहिरनबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समुदायका मौलिक परिकारहरू घरमै तयार गरी प्रदर्शनी तथा बिक्रीका लागि राखेका थिए । घरमै पाकेका परिकारहरूको स्टल राखेर बिक्रीसमेत गरिएको थियो । बजारमा पाइने तयारी खानेकुरा (फास्ट फुड) भन्दा फरक, स्वस्थ र मौलिक परिकारहरूलाई प्राथमिकता दिइनु कार्यक्रमको विशेष आकर्षण बनेको थियो ।
कक्षा १० का विद्यार्थी द्वय बन्दना गौतम र कृशाङ्ग थापा मगरले घरमै बनाएको परिकार बिक्री गर्दा व्यापारिक अनुभव हासिल भएको बताए । कार्यक्रममा सहभागी हुन पाउँदा आफ्नै संस्कृतिप्रति गर्व महसुस भएको उनीहरूको भनाइ छ ।
यसैगरी, कार्यक्रममा सहभागी अभिभावक गौतम यादवले यस्ता कार्यक्रमले बालबालिकामा संस्कृतिप्रति सम्मान र समझदारी बढाउने उल्लेख गरे । “विद्यालयले पढाइसँगै व्यवहारिक तथा सांस्कृतिक शिक्षा दिनु सकारात्मक पक्ष हो,” उनले प्रतिक्रिया दिए ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले सांस्कृतिक विविधताको झल्को दिने विभिन्न जातजाति र समुदायका परम्परागत पोशाक लगाएर सहभागिता जनाएका थिए ।
विद्यालयका प्राचार्य उदय कुमार मल्लिकले विगत ३–४ वर्षदेखि विद्यालयमा पोशाक दिवस मनाउँदै आएको र यस वर्षदेखि भोजन कार्यक्रमसमेत थप गरिएको जानकारी दिए । “जसरी हाम्रो नाम र ठाउँ हाम्रो पहिचान हो, त्यसरी नै हाम्रो खाना र पोशाक पनि हाम्रो महत्वपूर्ण पहिचान हो,” उनले भने । आगामी वर्षहरूमा कार्यक्रमलाई अझ भव्य र परिमार्जित रूपमा मनाउने योजना रहेको उनले बताए ।
विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै एक–अर्काको संस्कृति र पहिचानप्रति सम्मान गर्ने वातावरण निर्माण गरेको विद्यालय प्रशासनले जनाएको छ ।