© 2026
नेपालको लुम्बिनी लामो समयदेखि बुद्ध जन्मस्थलका रूपमा बौद्ध तीर्थयात्राको नक्साको केन्द्रबिन्दुमा रहँदै आएको छ। तर लुम्बिनीदेखि करीब २७ किलोमिटर दुरीमा रहेको तिलौराकोट अझैपनि भग्नावशेषकै स्वरुपमा छ।
यो त्यही ठाउँ हो, जहाँ सिद्धार्थ गौतमले आफ्नो राजकुमार जीवन बिताए भन्ने विश्वास गरिन्छ। गहिरो ऐतिहासिक महत्त्व बोकेको स्थल भए पनि यहाँ पुग्ने आगन्तुकको संख्या लुम्बिनीको तुलनामा निकै कम छ।
पुरातत्वविद्हरूका अनुसार हालै पत्ता लागेको एउटा नयाँ मन्दिरले यो अवस्था बदल्न सक्छ, किनकि यसले तिलौराकोट वर्तमानमा शान्त देखिए पनि विगतमा बौद्ध धर्मका लागि कहीं बढी धार्मिक महत्त्व बोकेको थियो भन्ने नयाँ प्रमाण प्रस्तुत गर्छ।
अर्धवृत्ताकार पछाडिको पर्खाल (एप्स) भएको उक्त एप्सिडल मन्दिर प्राचीन दुर्गभित्र फेला परेको हो र यसको समयावधि तेस्रोदेखि पाँचौँ शताब्दी इस्वीको बीचको मानिन्छ। अनुसन्धानकर्ताहरूका अनुसार यो नेपालमा पहिचान गरिएको आफ्नो प्रकारको पहिलो संरचना हो।
उनीहरू भन्छन्, गत साता सार्वजनिक गरिएको यो खोजले तिलौराकोट शाक्य राज्यको केवल राजनीतिक केन्द्र मात्र नभई बौद्ध उपासना र तीर्थयात्राको सक्रिय स्थलसमेत थियो भन्ने प्रमाणलाई थप बल दिन्छ।
इङ्ल्यान्डको दुरहाम विश्वविद्यालयका प्राध्यापक तथा उत्खननका सह-निर्देशक रोबिन कनिङ्घमले दिस् विक इन एसियालाई बताएअनुसार, यो मन्दिर दरबार परिसरका अवशेषमाथि बनेको एक विहारको आँगनभित्र फेला परेको हो।
उत्खनन टोलीमा पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञहरू पनि सहभागी थिए। उनीहरुले स्तूप, तेलका दियो र भिक्षापात्रका प्रमाणहरू फेला पारे, जसले तिलौराकोटको बौद्ध उपासनास्थलसँग प्रत्यक्ष सम्बन्ध देखाउँछ।
“मानिसहरूले प्रायः तिलौराकोटमा बौद्ध धर्मका प्रमाण कहाँ छन् भनेर सोध्छन्,” दक्षिण एसियाली पुरातत्त्वमा विशेषज्ञता राख्ने कनिङ्घमले भने।
“अब हामीसँग निर्विवाद प्रमाण छ कि यो स्थान विगतमा बौद्ध तीर्थयात्रीहरूका लागि अत्यन्तै महत्वपूर्ण थियो। हामीले फेला पारेको यो अद्भुत बौद्ध स्मारक बौद्ध धर्मका सबैभन्दा महत्वपूर्ण स्थलहरूमा मात्र पाइन्छ।”
कनिङ्घमका अनुसार तिलौराकोटको एप्सिडल मन्दिर भारतको सारनाथस्थित मन्दिरसँग ठ्याक्कै मिल्दोजुल्दो छ, जहाँ बुद्धले आफ्नो पहिलो उपदेश दिएका थिए। बुद्धको जीवनसँग सम्बन्धित यी दुई स्मारकले स्पष्ट ऐतिहासिक सम्बन्ध देखाउँछन्।
यो खोज पाँचौँदेखि सातौँ शताब्दी इस्वीबीच यस क्षेत्र भ्रमण गरेका चिनियाँ तीर्थयात्री तथा भिक्षु—प्रसिद्ध फाह्यान र ह्वेनसाङ—का विवरणले पनि समर्थन गर्छ, जसलाई पुरातत्वविद्हरूले तिलौराकोटकै वर्णन भएको ठान्छन्।
प्राचीन राजधानी
तिलौराकोटको पर्खालभित्रको स्थल दक्षिण एसियाका सबैभन्दा राम्रोसँग सुरक्षित भित्री दुर्गहरूमध्ये एक हो। यो दक्षिणी नेपालको लुम्बिनी प्रदेशमा अवस्थित छ, बुद्ध जन्मस्थल मायादेवी मन्दिरबाट करिब २७ किलोमिटर टाढा। मायादेवी मन्दिरको नाम बुद्धकी आमाको नाममा राखिएको हो।
करिब ५०० मिटर गुणा ४०० मिटर क्षेत्रफल ओगटेको यो दुर्ग क्षेत्रलाई १८९९ मा भारतीय पुरातत्वविद् पी.सी. मुखर्जीले शाक्य राजधानीको सम्भावित स्थलका रूपमा पहिचान गरेका थिए। त्यसयता भएका उत्खननले तेस्रो शताब्दी ईसा पूर्वसम्मका प्राचीन सडक, श्राइन, माटाका भाँडाकुँडा, टेराकोटा मूर्ति, ढुंगाका वस्तु तथा चाँदी र तामाका सिक्का फेला पारेका छन्।
“तिलौराकोट बौद्धहरूका लागि विशेष स्थान हो,”-बौद्ध दर्शनका विद्वान दयाराम गौतमले भने-“यहीँ सिद्धार्थ गौतमले आफ्नो जीवनका २९ वर्ष बिताए र बुद्ध बनेपछि करिब एक वर्षपछि फर्केर यहीँ उपदेश दिए।”
तर उनले तिलौराकोटले मायादेवी मन्दिरजस्तो तीर्थयात्री तान्न नसकेकोमा गुनासो गरे, जसको कारण उनले बुद्धको जीवनकथासँग स्थललाई जोड्न सरकार असफल भएको बताए।
लुम्बिनी विकास कोषका अनुसार २०२५ मा करिब ११ लाख स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरे, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले कम हो। यसको विपरीत, तिलौराकोट पुग्ने आगन्तुकको संख्या करिब ८० हजार मात्र रह्यो, जुन २०२४ को १ लाख ५२ हजारबाट तीव्र रूपमा घटेको हो।
गत वर्ष युनेस्कोले तिलौराकोट–कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय स्थगित गर्दै, एप्सिडल मन्दिरको थप अनुसन्धान, अझै स्पष्ट मिति र इतिहास, तथा तिलौराकोटलाई तीर्थस्थलका रूपमा स्थापित गर्ने थप प्रमाण मागेको थियो।
पुरातत्वविद्हरूलाई आशा छ कि पछिल्लो खोजले अर्को वर्ष युनेस्कोसँग तिलौराकोटको दाबी बलियो बनाउनेछ, किनकि अझ धेरै अवशेष जमिनमुनि रहेका हुन सक्छन्।
“हामीले एप्सिडल मन्दिरमार्फत देखाएझैँ अनुसन्धान नै तीर्थयात्रा प्रवर्द्धनको महत्वपूर्ण बाटो हो,” कनिङ्घमले भने-“यी स्मारकहरू उजागर र संरक्षण गरिएपछि तीर्थयात्रीहरूले तिनीहरूलाई तुरुन्तै चिन्नेछन्, बढी समय बिताउनेछन् र थप सचेत हुनेछन्। तर अनुसन्धान समयसाध्य हुन्छ।”
उपयोग नगरिएको सम्भावना
बौद्ध धर्मका सबैभन्दा पवित्र स्थलहरूमध्ये एक हुँदाहुँदै पनि लुम्बिनीले बेथलेहेम, मक्का वा अयोध्याजस्ता धार्मिक जन्मस्थलहरूले पाउने जति आगन्तुक तान्न सकेको छैन। पर्यटन व्यवसायीहरू यसका लागि प्रदेश र केन्द्र सरकार दुवैलाई धार्मिक केन्द्र वा ‘सफ्ट पावर’ प्रतीकका रूपमा प्रवर्द्धन गर्न असफल भएको दोष लगाउँछन्।
“यहाँ सडक, विहार र अन्य पूर्वाधार निर्माण अत्यधिक छ, शोरगुल छ, जसले मानिसहरू खोज्ने आध्यात्मिक शान्तिको अनुभूति दिन सक्दैन,” लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले भने-“गन्तव्यका रूपमा त्यो वातावरण सिर्जना गर्न हामी असफल भएका छौँ।”
शर्माका अनुसार भारतबाट आउने धेरै तीर्थयात्री समूहमा आएर केही घण्टामात्र बिताउँछन्, जसले स्थानीय अर्थतन्त्रलाई खासै फाइदा पुर्याउँदैन। २०२२ मा खुलेको भैरहवास्थित विमानस्थल (लुम्बिनीबाट करिब २१ किलोमिटर टाढा) पनि नियमित अन्तर्राष्ट्रिय उडान तान्न असफल भएको छ, हाल थाइ एयरएशियाले हप्तामा दुई पटक मात्र उडान सञ्चालन गरिरहेको छ।
“हाम्रो सरकारले भारतले बोधगयालाई जसरी प्रवर्द्धन गर्छ, त्यसरी लुम्बिनीलाई गर्न सकेन,” शर्माले भने-“हामी नेपालीहरू बुद्ध नेपालमा जन्मिएको दाबी गर्छौँ, तर बुद्धका मूल्य वा जन्मस्थल प्रवर्द्धन गर्न धेरै कम गर्छौँ।”
तर पुरातत्वविद्हरूले लुम्बिनीमा हुने कुनै पनि पर्यटन वृद्धिलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने चेतावनी दिएका छन्।
पुरातत्व विभागका पूर्व महानिर्देशक तथा तिलौराकोट उत्खननका सह-निर्देशक कोष प्रसाद आचार्यले ठूलो मात्राको पर्यटनले सम्पदास्थललाई क्षति पुर्याउन सक्ने भन्दै, विमानस्थललाई उचित योजना बिना “समय बम” को संज्ञा दिए।
“केही गलत हुनुअघि नै हामीले सम्पदाको संरक्षण योजनाबद्ध रूपमा गर्नुपर्छ,” आचार्यले भने-“नीतिनिर्माणमा सम्बन्धित विज्ञहरू हुनैपर्छन्, ताकि विकास मात्र होइन, संरक्षण पनि केन्द्रमा रहोस्।”
चीनको साउथ चाइना मर्निङ पोष्टमा विवेक भण्डारीले लेखेको सामग्रीको भावानुवाद ।