© 2026
दोहा, कतार ।
कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ, संस्थाहरूले निरन्तर रूपमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।
यसै बिच कतार देखि गृह जिल्ला गुल्मी सम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको सामाजिक संस्था गुल्मी सेवा समाज कतारले आफ्नो २३औँ स्थापना दिवसको अवसर पारेर “बृहत् रक्तदान कार्यक्रम” आयोजना गर्ने भएको छ।
“रक्तदान, जीवनदान” भन्ने मूल मन्त्रसहित लुम्बिनी प्रदेश समन्वय परिषद् कतार र नेपाली रक्तदाता सङ्घ, कतारको संयुक्त समन्वयमा समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवामा समर्पित रहँदै रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ आगामी मार्च ६ तारिकका दिन समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष मित्र बिएसले २३ औँ स्थापना दिवसलाई अर्थपूर्ण बनाउने उद्देश्यले रक्तदान जस्तो पुण्य कार्यलाई प्राथमिकता दिएर कार्यक्रमको आयोजना गरेको बताए ।
बिएसले बृहत् रक्तदान कार्यक्रममार्फत समाजले सामाजिक सेवामा थप योगदान पुर्याउने विश्वास लिएको बताउँदै कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानव सेवामा हातेमालो गर्न आग्रह समेत गरेका छन् ।
कतारको सरकारी हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म रक्तदान सञ्चालन हुने कार्य तालिका सहित सहजताका लागि आवश्यक सबै तयारी पूरा गरिरहेको संस्थाका सचिव कुमार राहादी मगरले जानकारी दिएका छन् ।
कतारमा रहेका नेपालीहरूबिच सामाजिक सद्भावका लागी यो अभियान अत्यन्तै महत्त्वपूर्ण हुने र यसका लागी कतारमा स्थापित विभिन्न सङ्घ संस्था, बुद्धिजीवी तथा समाजसेवीहरूको उत्साहजनक सहभागिता सहित रक्तदान गरिदिन गुल्मी सेवा समाज कतारले आग्रह समेत गरेको छ ।
सहजताको लागि कार्यक्रम संयोजक दीपक घिमिरे— मो ७७३०८४५० मा सम्पर्क गर्न सकिने समाजले बताएको छ । गुल्मी सेवा समाज कतारले विगत २३ वर्षदेखि कतारमा रहेका नेपाली समुदायबिच सामाजिक एकता, सहयोग तथा परोपकारी कार्यहरू गर्दै आएको छ ।