Butwal Today

किंगरियन पूर्वा: भोटको प्रतीक्षा, विकासको अभाव 

१३ फाल्गुन २०८२, बुधबार
अ+
अ-

नेपालगन्ज  ।

सङ्घीयता कार्यान्वयन भई स्थानीय सरकार स्थापना भएको करिब एक दशक बित्न लागिसकेको छ ।

जनप्रतिनिधिहरूले गाउँ–बस्तीको मुहार फेर्ने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने र आधारभूत सेवा सुविधा घरदैलोमै पु¥याउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

तर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने किंगरियन पूर्वा गाउँको यथार्थ भने फरक छ । यहाँका बासिन्दाले अझै पनि सहज सडक, सुरक्षित खानेपानी, ढल निकास र शौचालयजस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहनु परिरहेको छ ।

नेपालगन्ज बजारबाट करिब सात किलोमिटर पूर्व–दक्षिण दिशामा रहेको यो बस्ती भौगोलिक रूपमा उपमहानगरपालिकाभित्र परे पनि सुविधाको हिसाबले अझै ग्रामीण दुर्गम क्षेत्र जस्तै देखिन्छ । बस्तीमा पुग्ने मुख्य बाटो साँघुरो र कच्ची छ । केही स्थानमा बाटो बने पनि नाला नहुँदा वर्षा याममा सडक हिलाम्मे हुन्छ ।

स्थानीय तैयब साई भन्छन्, “अहिले मुस्किलले बाटो बनेको छ, तर नाला छैन । पानी परेपछि हिलाम्मे भएर हिँड्नै गाह्रो हुन्छ । ” किंगरियन समुदायको पहिचान उनीहरूको परम्परागत ‘किंगरियन’ बाजासँग जोडिएको छ ।

विगतमा सन्तान जन्म, विवाह वा अन्य शुभ कार्यमा उक्त बाजा बजाउँदै जीविकोपार्जन गर्ने यो समुदाय समयसँगै पेसा परिवर्तन गर्न बाध्य भएको छ । अहिले अधिकांश युवा तथा पुरुषहरू इँटा भट्टा, निर्माण मजदुरी वा दैनिक ज्यालादारीमा निर्भर छन् । तर पेसा बदलिए पनि जीवनस्तरमा खास सुधार आउन सकेको छैन ।

बस्तीमा करिब तीन सयभन्दा बढी घरधुरी र करिब १२ सय मतदाता छन् । चुनावको बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू उबड–खाबड बाटो पार गर्दै भोट माग्न पुग्छन् ।

स्थानीयवासीको अनुसार निर्वाचनपछि भने उनीहरू फर्केर आउँदैनन् । गौस मोहम्मद किंगरिया भन्छन्, “हामीलाई चाहिएको अनुसारको बाटो बनेको छैन । नाला सहितको करिब एक किलोमिटर सडक बने पुरैना–पुरैनी जोडिन्थ्यो र नेपालगन्ज आउजाउ सहज हुन्थ्यो ।”

बस्तीमा शौचालयको समस्या झनै जटिल छ । खुला दिशामुक्त घोषणा भइसकेको नगर क्षेत्रमा समेत यहाँका धेरै परिवारसँग शौचालय बनाउन पर्याप्त जग्गा छैन ।

सार्वजनिक शौचालयको अभावमा खुला दिसा गर्न बाध्य हुनुपरेको स्थानीयहरूको गुनासो छ । सहिदुन निशा किंगरियाका अनुसार महिलाहरूका लागि यो समस्या झनै संवेदनशील बनेको छ । “पुरुषलाई भन्दा महिलालाई धेरै समस्या हुन्छ । नयाँ बुहारीहरूलाई त झनै अप्ठ्यारो पर्छ,” उनी भन्छिन् । यसले स्वास्थ्य, सुरक्षा र मर्यादासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ ।

खानेपानीको अभाव अर्को ठूलो चुनौती हो । केही घरमा हाते पम्प भए पनि पर्याप्त र स्वच्छ पानी सबैले पाउँदैनन् । गर्मी याममा पानी सुक्ने समस्या देखिन्छ । सुरक्षित खानेपानीको दिगो व्यवस्था नहुँदा स्वास्थ्य जोखिम बढ्ने चिन्ता स्थानीयको छ ।

शिक्षाको अवस्था पनि सन्तोषजनक छैन । बस्तीको बिचमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ३ सय ३२ विद्यार्थी भर्ना भए पनि करिब ६० प्रतिशत मात्र नियमित रूपमा विद्यालय आउने गरेको विद्यालयले जनाएको छ । आर्थिक अभावका कारण धेरै बालबालिका घरको काम वा मजदुरीमा संलग्न हुन बाध्य छन् ।

छोराहरू इँटा भट्टामा काम गर्न जान्छन् भने छोरीहरू घरधन्दामै सीमित हुन्छन् । यसले भविष्यमा समुदायको समग्र विकासमा असर पर्ने देखिन्छ । स्वास्थ्य सेवाको पहुँच पनि कमजोर छ ।

सामान्य उपचारका लागि समेत नेपालगन्ज बजार धाउनुपर्ने बाध्यता छ । आपत्कालीन अवस्थामा सवारी साधन सहजै नपुग्ने हुँदा समस्या झनै बढ्छ । गर्भवती महिला, वृद्ध वृद्धा र बालबालिकाका लागि यो अवस्था जोखिमपूर्ण छ ।

स्थानीय वासीहरूको भनाइमा सङ्घीयतापछि स्थानीय सरकार गठन भए पनि सीमान्तकृत किंगरियन समुदायको जीवनस्तर उकास्न ठोस कार्यक्रम लागू हुन सकेका छैनन् । उनीहरू अबको निर्वाचनमा भाषणभन्दा काम गर्ने, वाचा भन्दा कार्यान्वयन गर्ने नेतृत्व चाहन्छन् । “हामीलाई ठुला सपना होइन, सामान्य बाटो, पानी र शौचालय चाहिएको हो,” एक स्थानीयले भने ।

बाँके क्षेत्र नम्बर २ मा पर्ने यो बस्तीको मत निर्णायक मानिन्छ । त्यसैले उम्मेदवारहरूका लागि यहाँको समर्थन महत्त्वपूर्ण छ । तर स्थानीयहरू यस पटक आधारभूत आवश्यकता पूरा गर्ने स्पष्ट योजना र प्रतिबद्धता हेरेर मात्र मत दिने मनस्थितिमा छन् ।
देशभरिमा एक मात्र सङ्गठित रूपमा रहेको किंगरियन समुदायको बस्ती “किंगरियन पूर्वा” विकासको पर्खाइमा छ । फागुन २१ गते हुने निर्वाचनपछि विजयी हुने जनप्रतिनिधिले यस बस्तीको दीर्घकालीन समस्या समाधानतर्फ ठोस पहल गर्लान् कि फेरि अर्को चुनावसम्म वाचा मात्र दोहोरिनेछ—यो प्रश्न अझै अनुत्तरित छ ।

किंगरियन पूर्वाका बासिन्दा भने यस पटक आफ्नो आवाज सुन्ने र वास्तविक परिवर्तन ल्याउने नेतृत्वको खोजीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?