Butwal Today

प्रतिनिधिसभा सदस्य निर्वाचन: काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैङ्क खाता

१३ फाल्गुन २०८२, बुधबार
अ+
अ-
काठमाडौँ । 
देशको सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैङ्क खाता खोलेका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् ।
त्यसमध्ये अहिलेसम्म २१९ जनाले निर्वाचनको खर्च गर्न बैङ्क खाता खोलेको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले राससलाई जानकारी दिइन् ।
निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दलहरूलाई फागुन ३ गते निर्देशन दिएको थियो ।
निर्वाचन आचारसंहितामै उल्लेख गरिएको यो विषयमा फागुनअघि पनि आयोगले जानकारी गराउँदै आएको हो । यति हुँदाहुँदै पनि राजधानी काठमाडौँमै अझै सबै उम्मेदवारले बैङ्क खाता खोलेका छैनन् ।
निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगले जारी गरेको ६३ बुँदे निर्देशनमा उल्लेख छ ।
आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । सुशासन प्रवर्द्धनका लागि उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यस पटक गर्न लागिएको जनाइएको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४०६ उम्मेदवार रहेकामा आजसम्म एक हजार ३८९ ले मात्र बैङ्क खाता खोलेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?