© 2026
बुटवल ।
४७ वर्षका प्रेमप्रसाद पौडेल अहिले आफ्नो जीवनको नयाँ अध्यायमा छन् ।
विदेशी भूमिमा लामो समय काम गरेर अनुभव सङ्कलन गरेका उनी अहिले देशको निर्वाचनमा शान्ति सुरक्षा सुनिश्चित गर्न म्यादी प्रहरीको रूपमा सक्रिय छन् । “खै कसरी यहाँसम्म आएँ, आफैँलाई पनि थाहा छैन,” उनी हाँस्दै भन्छन् । “यो संयोग होइन, मेरो चाहना हो । यहाँ आएर राष्ट्रको सेवा गर्न पाउनु जीवनकै रमाइलो र यादगार अनुभव हो ।”
पौडेलले विदेशी भूमिमा काम गर्दा अनुशासन, समय व्यवस्थापन र सामाजिक उत्तरदायित्वबारे गहिरो अनुभव बटुलेका थिए । तर आफ्नै देशमा, आफ्नै वासस्थानमा राष्ट्र सेवा गर्न पाउने कल्पना उनीले कहिल्यै गरेका थिएनन् । “यो अनुभवले मलाई मेरो जीवनमा एक नयाँ ऊर्जा दिएको छ,” उनी भन्छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलले कक्षा १२ सम्म शिक्षा प्राप्त गरेका छन् ।
अहिले उनी देवस्थान टोल विकास संस्थाका अध्यक्ष हुन् । गाउँ ठाउँमा सामाजिक काममा खटिन्थे तर अब निर्वाचन प्रहरीको जिम्मेवारीले उनको दिनचर्या पूर्ण रूपमा परिवर्तन भएको छ । “यहाँ समय र अनुशासनको पालना अत्यन्त कडा छ । विदेशमा काम गर्दा समयको कदर हुन्थ्यो, तर अहिले अनुभव फरक छ,” उनी सुनाउँछन् ।
पौडेल थप्छन्, “गाउँ ठाउँका समस्या पहिचान गरेर सामाजिक कामहरू गर्दै आएको थिएँ । तर यहाँको अनुभवले मलाई राष्ट्र सेवा, अनुशासन र समर्पण अलग ढंगले आउँछ भन्ने कुरा सिकाएको छ । यो मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण र मिठो अनुभव बन्ने छ ।”
विदेशमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्दा उनले सानो ठुलो काम छुट्टाउँदैनथे । त्यही अनुभवले उनलाई नेपाली समाजमा योगदान गर्न प्रेरित गरेको छ । “यहाँ उमेरले काम गर्न नहुने सोचले मात्र होइन, समाज, परिवार र राष्ट्रमा पनि ढिलाइ हुन्छ । त्यसैले मैले आफू काममा जुट्ने निर्णय गरेको हुँ । यहाँका युवा सहकर्मीहरूसँग काम गर्दा आफैँलाई जवान महसुस हुन्छ,” उनले भने ।
निर्वाचन प्रहरीको कार्यकाल करिब ४० दिन रहनेछ । ती दिन पौडेलका लागि नयाँ चुनौती र उत्साहको स्रोत बनेका छन् । “मेरो साथी, सहकर्मी धेरैजसो १९ देखि ३० वर्ष उमेरका छन् । उनीहरूको जोस र उत्साहले मलाई पनि नयाँ ऊर्जा दिएको छ । हामीसँगको सहकार्यले आधुनिक प्रविधि र समयसँगै अघि बढ्न सिकाएको छ,” उनी भन्छन् ।
आर्थिक लाभ भन्दा बढी, पौडेलको उद्देश्य काममा योगदान गर्नु हो । “काम सानो वा ठुलो हुँदैन । यदि कामलाई मनले स्विकार्छौँ भने जीवनमा शान्ति र खुसी प्राप्त हुन्छ । यही सिद्धान्तले मलाई यहाँसम्म ल्यायो,” उनले भने ।
पौडेलले आफ्नो अनुभव बाँड्दै थपे, “विदेशमा काम गर्दा जीवन कठिन थियो । अहिलेको समय फरक छ, तर जुन उत्साह र जिम्मेवारी यहाँ छ, त्यसले मलाई सधैँ प्रेरित गरेको छ । उमेरले मात्र सीमा तय गर्दैन, मनको जोशले नै अघि बढाउँछ ।”
उनको अनुभवले युवा पुस्तालाई मात्र होइन, समाजका वृद्ध र काम गर्न इच्छुक नागरिकलाई पनि प्रेरित गर्छ ।
“निर्वाचन प्रहरीको रूपमा सेवा गर्न पाउँदा मेरो परिवार र समाजमा पनि खुसी बढेको महसुस हुन्छ । काममा समर्पण हुनु जीवनको सुखको आधार हो,” पौडेलले भने ।
४७ वर्षको उमेरमा पनि युवा उत्साह र अनुशासनसँगै राष्ट्रको सेवा गर्न पाउँदा प्रेमप्रसाद पौडेलको कथा प्रेरक छ । उनको अनुभवले उमेर कुनै सीमा नभई इच्छाशक्ति, समर्पण र समाजप्रति जिम्मेवारी नै वास्तविक शक्ति रहेको देखाएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि देशभर सवा लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गरिएको छ ।