© 2026
चन्द्रौटा (कपिलवस्तु) ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको छ ।
घरदैलो, टोलसभा, युवा भेटघाटदेखि सामाजिक सञ्जालसम्म उम्मेदवारहरूको सक्रियता बाक्लिएको छ । यस क्षेत्रको प्रतिस्पर्धा परम्परागत राजनीतिक प्रभाव र नयाँ विकल्पबिचको टकराबका रूपमा हेरिएको छ ।
यस पटक मैदानमा उत्रिएका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि, दलगत समीकरण, जातीय–सामाजिक सन्तुलन र युवा मतदाताको बढ्दो प्रभावले कपिलवस्तु–१ लाई चासोको केन्द्र बनाएको छ ।
पुराना दलहरू आफ्नो परम्परागत मताधार जोगाउन र विस्तार गर्न रणनीतिक रूपमा जुटेका छन् भने नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूले परिवर्तन, सुशासन र पारदर्शिताको एजेन्डा अघि सारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानसभा सदस्य भइसकेका विश्राम प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले आफ्नो बलियो संगठन, सक्रिय कार्यकर्ता परिचालन र गाउँ–गाउँमा स्थापित संरचनालाई मुख्य आधार मानेको छ ।
पार्टीका स्थानीय नेताहरूका अनुसार यस पटक एमालेले असन्तुष्ट मतदातालाई लक्षित गर्दै विकासका ठोस कार्यक्रमसहित चुनावी अभियान सञ्चालन गरिरहेको छ ।
उम्मेदवार विश्राम प्रसाद चौधरी भन्छन्, “एमाले नेतृत्वमा मात्रै स्थायित्वसहित विकास सम्भव छ, अधुरा योजना पूरा गर्नु मेरो प्राथमिकता हुनेछ ।”
नेपाली काँग्रेसका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अतहर कमल मुसलमान पुनः मैदानमा छन् ।
लामो राजनीतिक अनुभव, बलियो जनसम्पर्क र पार्टीको परम्परागत प्रभाव क्षेत्रलाई काँग्रेसले आफ्नो मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ । विकास, सामाजिक समावेशिता, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तार उनका प्रमुख एजेन्डा हुन् ।
अतहर कमल मुसलमानको भनाइ छ, “मैले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन र क्षेत्रको समावेशी विकासका लागि पुनः जनताको मत चाहेको हुँ ।”
वाम मतको समीकरण
वाम राजनीतिक धाराबाट नेकपाका कृष्ण बहादुर कुँवर पनि प्रतिस्पर्धामा छन् । वाम मत एकीकृत हुने कि विभाजित हुने भन्ने प्रश्न चुनावी विश्लेषणको केन्द्रमा छ ।
बहुकोणीय प्रतिस्पर्धाका कारण सानो मतान्तरले पनि परिणाम प्रभावित हुन सक्ने देखिन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार वाम मत विभाजित भए काँग्रेस वा नयाँ शक्तिलाई लाभ पुग्न सक्छ, तर एकीकृत भए परिणाम फरक हुन सक्छ ।
कृष्ण बहादुर कुँवर भन्छन्, “वाम शक्तिहरूबिच वैचारिक स्पष्टता र जनताको पक्षमा दृढ अडान नै हाम्रो बल हो, परिवर्तनका लागि सचेत मत आवश्यक छ ।”
यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहन आचार्यको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ ।
परम्परागत दलप्रति निराश मतदातालाई लक्षित गर्दै उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । विशेष गरी शिक्षित युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताबिच रास्वपाको प्रभाव बढ्न सक्ने आङ्कलन गरिएको छ ।
मोहन आचार्यले भने, “पुराना राजनीतिक शैलीले जनताको अपेक्षा पूरा गर्न सकेन, अब पारदर्शी र जबाफदेही नेतृत्वको आवश्यकता छ ।”
स्वतन्त्र उम्मेदवार आशिष शर्माले घरदैलो अभियान, सामाजिक सञ्जाल र प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । सीमित स्रोत–साधनका बाबजुद स्थानीय मुद्दा, युवा रोजगारी र कृषि सुधारका विषयमा उनले मतदाता माझ प्रभाव जमाउने प्रयास गरिरहेका छन् ।
आशिष शर्मा भन्छन्, “दलभन्दा माथि उठेर क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धताका साथ म चुनावी मैदानमा आएको हुँ ।”
त्यसै गरी राष्ट्रिय जनमोर्चा पार्टी तथा मधेसवादी दलका उम्मेदवारहरू पनि आ–आफ्नो एजेन्डासहित सक्रिय छन् । यद्यपि मुख्य प्रतिस्पर्धा एमाले, काँग्रेस, नेकपा र रास्वपाबीच केन्द्रित देखिएको छ ।
कपिलवस्तु–१ मा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, शिक्षा–स्वास्थ्य सेवा सुधार, सडक तथा औद्योगिक पूर्वाधार विकास र युवापलायन रोक्ने विषय प्रमुख एजेन्डाका रूपमा उठेका छन् ।
उम्मेदवारहरूले विकास र सुशासनको प्रतिबद्धता दोहो¥याए पनि मतदाताले व्यवहारिक योजना र परिणाममुखी नेतृत्व खोजिरहेको स्थानीयको भनाइ छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार युवा मतदाताको निर्णायक भूमिका रहने सम्भावना छ ।
परम्परागत राजनीतिक निष्ठा क्रमशः कमजोर बन्दै जानु र मुद्दा–आधारित मतदानको प्रवृत्ति बढ्नुले अन्तिम परिणाममा नयाँ समीकरण जन्माउन सक्छ । बहुकोणीय प्रतिस्पर्धाका कारण मत विभाजन निर्णायक बन्ने देखिएको छ ।
सानो मतान्तरले पनि नतिजा उल्ट्याउन सक्ने भएकाले सबै दल अन्तिम समयसम्म रणनीति परिमार्जनमा जुटेका छन् ।
समग्रमा, कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिस्पर्धा केवल दलगत प्रतिस्पर्धा नभई राजनीतिक संस्कार, नेतृत्वको विश्वसनीयता र मतदाताको बदलिँदो मनोविज्ञानको परीक्षा बनेको छ ।
फागुन २१ को मत परिणामले यहाँ पुरानो प्रभाव कायम रहन्छ कि नयाँ शक्तिले स्थान बनाउँछ भन्ने स्पष्ट पार्नेछ ।