गुल्मी ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिलाहरूले गर्ने भएका छन् ।
महिलाहरूले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगपालिका–८ स्थित सिद्ध बाबा माध्यमिक विद्यालयको “क” केन्द्र र रेसुङ्गा नगपालिका–५ स्थित जनसहयोग माध्यमिक विद्यालयको “ख” केन्द्र रहेका छन् ।
उक्त दुई मतदान केन्द्रमा सम्पूर्ण महिला कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
सिद्ध बाबा माध्यमिक विद्यालयको महिला बुथमा मतदान अधिकृतको रूपमा सृजना मिश्रले कार्यभार सम्हालेकी छन् भने जनसहयोग माध्यमिक विद्यालयको “ख” केन्द्रमा रहेको बुथको नेतृत्व पुष्पा रायमाझी अर्यालले गरेकी छन् ।
महिला मतदान अधिकृत सहित सबै कर्मचारी महिला भएका कारण यो एउटा नयाँ अभ्याससँगै यसले निर्वाचन प्रक्रियामा समानता र सशक्तीकरणको नयाँ उदाहरण प्रस्तुत गरेको बताइएको छ ।
गुल्मीमा दुई वटै निर्वाचन अधिकृतको कार्यालयद्वारा सम्पूर्ण मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्वाचन सम्बन्धी अभिमुखीकरण तालिम गरी जिम्मेवारी समेत हस्तान्तरण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा एक हजार सात सय १६ जना कर्मचारी खटाइएको छ । निर्वाचनका लागि जिल्लामा रहेका २८५ मतदान केन्द्रमा २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा तीन जनाका दरले ८५५ सहायक कर्मचारी र २८५ जना सहयोगी कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
स्थानीय तह र स्थायी शिक्षकहरूबाट कर्मचारीहरू छनोट गरिएको हो । जिल्लामा जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदी बन्दीहरूका लागि एक अस्थायी मतदान केन्द्र राख्नका लागि निर्वाचन आयोगमा सिफारिस समेत गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य २ जना गरी कुल दुई लाख २९ हजार ५४९ मतदाताहरू रहेका छन् । यस पटकको निर्वाचनमा जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ ।