© 2026
पाल्पा । आर्यभञ्ज्याङ–रामपूर सडक बनाउने आश्वासन दिएर नेताहरुले मत मागेको तीन दशक भयो । यही सडकका नाममा उम्मेदवारहरुले मत मागेर चुनाब जिते, सदनमा पुगे । तर सडकको अवस्था उस्तै छ ।
जब जब निर्वाचन नजिक आउँछ, तब यस क्षेत्रका उम्मेदवारले छिटै सडक बन्ने आश्वासन दिन्छन् । तर जितेर गएपछि अवस्था उस्तै ।
यसपटक भने जनताले उम्मेदवारलाई बाटो बनाएको खै ? भनेर सोध्न थालेका छन् । सिलुवाका मान बहादुर बयम्वु यो सडक बनाउँछु भनेर नबनाउने उम्मेदवारलाई प्रश्न गरेको बताउँछन् ।
पाल्पाको आधा भागमा फैलिएको यो सडक सिद्धार्थ राजमार्ग भन्दा पनि पहिलेदेखि प्रयोगमा थियो । स्थानीयले जनश्रमदानबाट बनाएको यो सडक पछिल्ला वर्षहरुमा संघ र प्रदेश सरकारको चासोमा नपरेपछि बिग्रदो अवस्थामा छ ।
स्थानीय कमला श्रेष्ठ पटकपटक सडक बनाउने आश्वासन दिएर पनि नबनाएका कारण यसपटक मत बदल्ने बताउँछिन् । उनी जसले सडक बनाउने विश्वास दिलाउन सक्छ उसैलाई भोट दिने बताइन् ।
यो घिउ, अदुवा, सुठोसँग लत्ता कपडा, नुन मसला र मटितेल साट्न बुटबल जाने बाटो पनि थियो । जब उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर बन्यो तब, यो सडक अलपत्र भयो । कसैको चासोमा परेन । २०६३ सालमा जिल्ला विकास समितिले कालोपत्रे गरेको यो सडकमा दैनिक सय भन्दा बढी ठूला साना सवारीका साधन गुड्छन् ।
यही सडकलाई रामपुरदेखि छहरा हुँदै सल्यानको कपुरकोट सम्म जोड्ने र यसको नामाकरण कृष्ण सेन इच्छुक मार्ग भन्ने लुम्बिनी प्रदेश सरकारले उद्घोष गरेपनि आर्यभञ्ज्याङ–रामपूर खण्डमा बजेट छैन ।
‘यही बाटो हिँडेर मन्त्री भए, सांसद भए, तर यो सडक बनाएनन्, अब निर्वाचनमा आउलान् त्यही बेला जवाफ दिने हो’–स्थानीय भोला थापा असन्तुष्टि व्यक्त गर्छन् ।
वर्षायाममा चिप्लो र हिउँदमा धुलाम्य हुने यो सडक बनाउन कुनै जनप्रतिनिधिले चासो नदिएको स्थानीय अर्जुन कार्की बताउँछन् । ‘२०४८ सालदेखि नै यो सडक राजनितिक दलका उमेदवारका लागि मत माग्ने बलियो मसला बन्यो, उनी भन्छन्, तर कसैले पनि चुनाबमा गरेको वाचा पूरा गरेनन् ।’
आर्यभञ्ज्याङ–रामपूर सडक खण्डको उपभोक्ता समितिका पूर्व अध्यक्ष लेखनाथ पोखरेल भन्छन्–‘पहिले यो मुख्य सडकका रुपमा चलेको थियो, विकल्पमा करिडोर सडक निर्माण भयो, अनि यो सडक ओझेलमा पर्यो, तरपनि यो सडकको उपयोग गर्नेको संख्या उत्तिकै छ, प्रदेश सरकारले यसलाई सरासर अन्याय गरेको हो ।’
आर्यभञ्ज्याङ–रामपूर सडक पाल्पा सदरमुकाम तानसेनलाई माथागढीको वडा नम्वर १, पूर्वखोला, निस्दी, रम्भा गाउँपालिका र रामपुर नगरपालिकालाई जोड्ने सबैभन्दा पुरानो सडक हो ।
निर्वाचनमा मत माग्ने आधारमा रुपमा यो बाटोलाई लिइएपनि कसैले काम नगरेको पूर्वखोला गाउँपालिका सिलुवाका देवेन्द्र श्रेष्ठ बताउँछन् । वर्षादका समयमा अत्याश्वयक काम वा बिरामीका लागि अस्पताल पुग्नसमेत कठिन भएको रम्भा गाउँपालिका ताहुकी इन्दिरा कार्कीको भनाई छ ।
सडक पूर्वाधार निर्देशनालयका सूचना अधिकारी अरुण गुप्ता सडक बनाउन श्रोत सुनिश्चितता नभएको बताउछन् । आर्यभञ्ज्याङ–रामपूर सडक खण्डको ताहु क्षेत्रको केही काम अगाडि बढेको र बाँकी ठाउँमा काम गर्न बजेट नभएको उनी बताउँछन् ।