Butwal Today

‘अब मत बदर घटाउन मतदाता शिक्षा’

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

निर्वाचन आयोगले मत बदर हुने अवस्था कम गराउन निर्वाचन मतदाता शिक्षा अभियान सुरु गरेको छ । विगतमा मतदाता शिक्षाका नाममा ठूलो धनराशी खर्चिए पनि धेरै मत बदर हुँदा आयोगको आलोचना भएको थियो ।

अहिलेपनि त्यही अवस्था दोहोरिन दिनु हुँदैन । त्यही भएर निर्वाचन आयोगले अहिले मतदाता शिक्षा अभियानलाई गाउँ गाउँसम्म पु¥याएको छ । त्यसो त कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अहिले बदर मत संख्या अहिलेसम्मकै कम हुने दावी गर्नुभएको छ ।

निर्वाचनप्रति आम मतदाताको चासो बढ्दो र मतदाता शिक्ष अभियानलाई प्रभावकारी बनाएकोले मत बदर संख्या घटने आयोगको दावी छ । जेहोस मतदाता शिक्षालाई प्रभावकारी बनाउनेतर्फ आयोगले काम गरोस । हरेक मतदाताले मतदान गर्दा अपनाउनुपर्ने सावधानीको विषयमा अहिलेदेखि नै शिक्षा दिन सकियो भने त्यसले बदर मत घटाउने छ ।

निर्वाचनमा एक एक मतको पनि महत्व हुने भएकोले मत बदर घटाउनेतर्फ आयोग, राजनैतिक दल र स्वयं उम्मेदवारहरूको पनि ध्यान पुग्नु आवश्यक छ । आवधिक निर्वाचन लोकतन्त्रको एउटा बलियो आधार हो । त्यसकारण जति दल, सरकार वा निर्वाचन आयोगको भूमिका हुन्छ, त्यो भन्दा महत्वपूर्ण भूमिका आममतदाताको हुन्छ । किनभने, सही र योग्य उम्मेदवारको छनोट हुन सक्यो भने मात्रै चुनाव सफल भएको मान्नुपर्छ ।

लामो संक्रमण र राजनीतिक अस्थिरता भोगेको नेपाली समाजले यावत् विसंगतिबाट त्राण पाउने एउटा मुख्य उपाय स्थिर सरकार हुन सक्छ । तसर्थ बदर मत घटाएर योग्य उम्मेदवारले जित्ने अवस्थाको सिर्जनामा सवै सारथी बन्नु जरुरी छ ।
हरेक निर्वाचनमा आयोगले मतदाता शिक्षाका लागि ठूलो विनियोजन गर्दै आएको छ तर रकमको सदुपयोग राम्ररी गर्न नसकेको र मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन नसकेको आरोप लाग्दै आएको छ ।

जति बढी मत बदर भयो, आयोगमाथि त्यति धेरै प्रश्न उठ्छ । मतदाता शिक्षामा राज्यको त्यति धेरै रकम खर्च हुँदा पनि निर्वाचनमा मत बदर हुने क्रममा कमी आउन सकेको छैन । गत ०७९ को स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएको थियो । त्यसअघिको निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको आयोगले जनाएको थियो ।

आयोगले ती निर्वाचनमा पनि मतदाता शिक्षा कार्यक्रममा करोडौं रूपैयाँ खर्चेको थियो । राज्यकोषबाट करोडौं खर्चंदा पनि आयोगले निर्वाचनमा हुने बदर मतमा कमी ल्याउन नसक्नु विडम्बना हो । तसर्थ निर्वाचन आयोगले सकारात्मक रूपमा लिएर मतदाता शिक्षा कार्यक्रमलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्नुपर्छ ।

जनतालाई मतदान गर्ने तरिका सिकाउने मतदाता स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने कार्यमा आयोग होमिनैपर्छ । जनताका मतलाई जोगाउन सक्नुपर्छ । आयोगले यसो गर्न सकेमा मात्रै आयोगको संवैधानिक दायित्व पनि पूर्णरूपमा पूरा हुन सक्छ र शासकीय सफलताका आधारहरू पनि तय हुन सक्छन् । आयोगले अहिले मतदाता शिक्षाका लागि गाउँ गाउँमा स्वयंसेवक खटाउन सुरु गरेको छ ।

ती गाउँसम्म पुगे पुगेनन हेर्नु जरुरी छ । विगतका निर्वाचनमा भएको मत बदरको उल्लेख्य संख्याले मतदाता शिक्षा कार्यक्रममाथि ठूलो प्रश्न उठेको थियो । तर, यसपटक आयोगले त्यसखाले गल्ती र कमजोरीबाट पाठ सिक्ने जनाएको छ । आयोगले इतिहासमै यो निर्वाचनमा मत बदर प्रतिशत कम हुने दावी गरेकोले केही आशा अवश्य उत्पन्न भएको छ ।

लोकतन्त्रमा जनताको एकएक मत पनि निकै अमूल्य हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै मतदाता शिक्षालाई गाउँ गाउँसम्म पु¥याउने बिषयमा कमी नहोस् । आम सचेत मतदाता समेतले अरू मतदातालाई मतदानको बिषयमा बुझाउन सकियो भने पनि मत बदर दर कम हुने भएकोले यसतर्फ ध्यान पु¥याउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?