काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने दाबी गरेका छन् ।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू सरकारबाट बाहिरिएपछि देशमा विकास निर्माणका काम ठप्प हुने गरेको जिकिर गरे ।

उनका अनुसार आफू नेतृत्वमा आउँदा तीव्र गतिमा काम अघि बढ्ने र त्यसबाट विरोधीहरू असहज हुने गर्छन् । ‘मैले काम गर्न थाल्छु । काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ । काम रोकिन्छ, काम बन्द हुन्छ । फेरि म आउनुपर्छ ।’
उनले थपे, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’
कतिपयले आफूलाई पुनः उम्मेदवार बन्नुको कारण सोध्ने गरेको उल्लेख गर्दै ओलीले अधुरा काम पूरा गर्नका लागि पुनः मैदानमा उत्रिएको बताए । ‘काम धेरै भएको छ, तर अझै धेरै गर्न बाँकी छ । अधुरा काम पूरा गर्नुपर्ने छ । त्यसकारण म उम्मेदवार भएको हुँ,’ उनले भने ।






