© 2026
चन्द्रौटा (कपिलवस्तु) ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले मातृ मृत्युदर उच्च रहेको पालिकाहरूमा सुरक्षित मातृत्व अभियान सञ्चालन गरिएको बताएका छन् ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा भएको एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री सारूले मातृ तथा शिशु स्वास्थ्य प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले भने: “मातृ मृत्युदर न्यूनीकरण केवल स्वास्थ्य क्षेत्रको विषय मात्र होइन, यो समग्र समाज र राज्यको जिम्मेवारी पनि हो । गर्भवती महिलाले समयमै जाँच, परामर्श र सुरक्षित प्रसूति सेवा पाउनु उनको आधारभूत अधिकार हो ।” ग्रामीण तथा दुर्गम क्षेत्रका महिलासम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रयोगशाला तथा युएसजी परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको उनले उल्लेख गरे ।
यस्तै स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले सेवा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवालाबिच समन्वय अपरिहार्य रहेको बताइन् ।
कार्यक्रम घोषणा गरेर मात्रै नुहुने बताउँदै प्रभावकारी अनुगमन र मूल्याङ्कन हुनुपर्नेमा उनले जोड्दिइन् । “हामी परिणाममुखी काम चाहन्छौँ । मातृ मृत्युदर घटेको तथ्याङ्क देखिने गरी काम गर्न सबै तह जिम्मेवार बन्नुपर्छ ।” सचिव श्रेष्ठले भनिन् । जनचेतना अभिवृद्धि, पोषण सुधार, सुरक्षित प्रसूति केन्द्रको सुदृढीकरण र दक्ष स्वास्थ्यकर्मी व्यवस्थापनमा प्रदेश सरकार सक्रिय रहेको समेत उनले जिकिर गरिन् ।
यसैबिच जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आर्चायले विगतभन्दा अहिले सुधारोन्मुख रहेको बताए ।
लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च रहेको जिल्लामध्ये कपिलवस्तु पनि एक भएकाले जिल्लाका ७ वटा पालिकाका करिब ६ हजार ७ सय ६२ गर्भवती महिलालाई लक्षित गरी प्रति गर्भवती करिब ४ हजार ६ सय बराबरको निःशुल्क प्रयोगशाला तथा युएसजी परीक्षण सेवा उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयकी जनस्वास्थ्य अधिकृत चाँदनी शर्माले जनाइन् ।
मन्त्रालयका अनुसार गर्भावस्थामा हुने जटिलता समयमै पहिचान गरी सुरक्षित प्रसूति सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको छ । आइतबार सहभागी स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले अभियानलाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त जनाए ।