Butwal Today

वन्यजन्तु आतङ्क नियन्त्रणमा प्रतिबद्धता जनाउने उम्मेदवार खोज्दै मध्यवर्ती क्षेत्रका बासिन्दा

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

कञ्चनपुर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा वन्यजन्तु आतङ्क न्यूनीकरणलाई मुख्य मुद्दा बनाउने उम्मेदवारको खोजी गरिरहेका छन् ।

निकुञ्जबाट बस्ती र खेतीयोग्य जमिनतर्फ छिर्ने बदेल, निलगाई, चितल र हात्तीले बर्सेनि बालीनालीमा व्यापक क्षति पु¥याउने गरेका छन् । बाघ र चितुवाले गोठबाटै गाई, भैँसी र बाख्रा तानेर मार्ने घटना दोहोरिँदै आएको स्थानीयको गुनासो छ ।

मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने पिपलाडीका ६५ वर्षीय गङ्गाराम डगौराले बालीनाली जोगाउन बलिया मचान, विद्युतीय मेसवायर, सोलार बत्ती तथा टर्चलाइटको व्यवस्था अत्यावश्यक रहेको बताए । “निकुञ्ज नजिकैको बस्ती भएकाले जङ्गली जनावरले केही बाँकी राख्दैनन्, मचानबाट निगरानी गरी भगाउन सकिन्छ तर संरचना छैन, पैदल खेतमा जाँदा आक्रमणको उच्च जोखिम हुन्छ”, उनले भने, “वर्षौँदेखि माग राख्दासमेत सुनुवाइ हुन सकेको छैन, त्यसको सुनावाइ गरी कार्य गर्ने उम्मेवार चाहिएको छ ।”

खजुवाका ६० वर्षीय किडे धानुकका अनुसार जडान गरिएको मेसवायर वर्ष दिन नपुग्दै हात्ती र वर्षाले भत्काएको छ । “कतै हात्तीले ढालेको छ, कतै बाढीले बगाएको छ, मर्मत हुन सकेको छैन”, उनले भने । बलियो विद्युतीय तारबार, स्याली नदीमा तटबन्ध, कालोपत्रे सडक र सिँचाइको व्यवस्था प्रमुख माग रहेको उहाँले बताउनुभयो । खजुवा क्षेत्रमा मात्रै ६० भन्दा बढी परिवार बसोबास गर्दै आएका छन् ।

जोनापुरका महेश महराले वन्यजन्तु प्रवेश गर्ने संवेदनशील स्थानमा प्रभावकारी मेसवायर जडान, सडक पूर्वाधार सुधार र नदी नियन्त्रणमा प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत दिने धारणा व्यक्त गरे । “महिना दिन अघि मात्रै छिमेकीले कर्जा गरेर ल्याएका दुई उन्नत गाई बाघले गोठबाटै घिसारेर मारेको छ, क्षतिपूर्ति पाउन सकेका छैनौँ”, उनले भने । हात्तीले पाक्दै गरेको धान, गहुँ र उखु सखाप पार्ने गरेको उनको भनाइ छ ।

मध्यवर्ती क्षेत्रअन्र्तगत २४३ दशमलव पाँच वर्ग किलोमिटर पर्दछ । उक्त क्षेत्रमा पाँच नगरपालिका र दुई गाउँपालिकाका ४८ वटा वडा पर्र्दछन् । मध्यवर्ती क्षेत्रमा ३८ उपभोक्ता समिति गठन भएका छन् । उपभोक्ता समितिमार्फत मध्यवर्ती क्षेत्रमाका वन्जयजन्तु पीडित बासिन्दालाई राहत, क्षतिपूर्तिका कार्यक्रमसहित मेसवायर, सुधारिएको चुलो, बत्ती जडानलगायत कार्य हुँदै आएका छन् ।

व्यवस्थापन समितिमार्फत जैविक विविधता संरक्षण, सामुदायिक विकास, आयआर्जन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन हुँदै आएको निकुञ्ज प्रशासनको भनाइ रहेको छ ।

यद्यपि स्थानीय बासिन्दाले ती प्रयास पर्याप्त नभएको भन्दै दीर्घकालीन र भरपर्दो योजना अघि सार्ने उम्मेदवारको अपेक्षा गरेका छन् । “वन्यजन्तु आतङ्क नियन्त्रण, क्षतिपूर्ति प्रणाली सरल र प्रभावकारी बनाउने तथा आधारभूत पूर्वाधार विकास गर्ने स्पष्ट प्रतिबद्धता चाहिन्छ,” स्थानीयको सामूहिक माग छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?