© 2026
काठमाडौँ ।
दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्मान गरिएको छ ।
कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूत रहेका छन् ।
कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा राजदूत डा तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताए । उनले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
राजदूत तुम्बाहाङफेले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीच निरन्तर सहयोग, सहकार्य र मित्रतापूर्ण सम्बन्ध कायम रहेको जानकारी गराए। उनले आगामी दिनमा पनि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक तथा श्रम सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा अन्य दुई देशका राजदूतहरूलाई पनि उपभोक्ता हित, अन्तरराष्ट्रिय सहकार्य तथा आपसी सम्बन्ध प्रवर्द्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । रासस