© 2026
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले ‘नेशनल युथ फोर्स’ गठन गरेपछि अब कुनै पनि देशका सर्वोच्च संरचना जल्न नदिने दाबी गरेका छन् ।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा जेनजी आन्दोलनका क्रममा देशका महत्वपूर्ण संरचनामा आगजनी भएको प्रसंग उल्लेख गरे । त्यतिबेला आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले त्यस्ता घटना हुन पुगेको उनको भनाइ थियो ।
‘देश जल्यो । जल्दो रहेछ । एउटा मात्रै कारण हो, हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं । अब कहीँ केही जल्न पाउँदैन,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं ।’
उनका अनुसार शान्ति–सुरक्षामा सहयोग र रखबारी गर्नका लागि युथ फोर्स गठन गरिएको हो । ‘यो कुनै देखाउनका लागि मात्रै बनाइएको होइन,’ उनले भने ।
सम्बोधनका क्रममा ओलीले युथ फोर्सलाई एमालेको जनवर्गीय संगठनका रूपमा प्रस्तुत गर्दै भने, ‘यो फोर्स एमालेको जनवर्गीय संगठन हो । यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्छ । नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले भन्छ- देश पहिलो । अरू कुरा भन्दा देश पहिले । त्यस मन्त्रलाई अघि राखेर फोर्सले अनुशासित ढंगले काम गर्छ । यो चुनावका लागि गठन गरिएको फोर्स होइन, सधैंका लागि हो ।’
राज्य संयन्त्रमाथि मात्र जनता निर्भर रहनु उपयुक्त नहुने उल्लेख गर्दै उनले त्यही उद्देश्यले फोर्स गठन गरिएको बताए ।