© 2026
दाङ ।
जिल्लामा आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका निकायले चुनावी तयारीलाई तीव्र पारेका हुन् । प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनका लागि दुई हजार बढी कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच प्रदेश निर्वाचन कार्यालय दाङ र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण सुरु गरेको छ । निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गराउन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिन थालिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद पण्डितले जानकारी दिए। त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएकाले मतदानस्थलमा सुरक्षा मजबुद बनाउन सबै तहबाट काम गर्नुपर्ने बताए।
दाङ क्षेत्र नं २ मा ४९ वटा मतदानस्थल र १५५ मतदान केन्द्र छन् । पन्ध्र जना राजनीतिक र आठ स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैगरी क्षेत्र नं ३ मा ५६ मतदानस्थल, १६९ मतदान केन्द्र छन् । एक लाख ५० हजार ७२० मतदाता रहेका यहाँ राजनीतिक दलका १५ र २३ जना स्वतन्त्र उम्मेदवार छन् । दाङमा कुल चार लाख ३१ हजार ६८७ मतदाता कायम छन् । १५९ मतदानस्थल र दुईवटा अस्थायी गरी ४७९ मतदान केन्द्र रहेका छन् । रासस