Butwal Today

मधेस प्रदेश समन्वय परिषद् कतारद्वारा ‘ईफ्तार’कार्यक्रम सम्पन्न

१० फाल्गुन २०८२, आइतबार
अ+
अ-

दोहा, कतार ।

मधेस प्रदेश समन्वय परिषद् कतारको आयोजनामा पवित्र रमजान महिनाको अवसरमा बृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजानलाई लक्षित गर्दै परिषद्ले उक्त कार्यक्रम आयोजना गरेको हो ।

शुक्रवार दोहास्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष मोहम्मद कलाम हुसेन खान तथा गैर आवासीय नेपाली संघ, एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात मौलाना धर्मगुरु मोहम्मद गुलाब नवमी रवजीद्वारा पवित्र कुरान पाकको तिलावत वाचनबाट गरिएको थियो । त्यसपछि विभिन्न मुस्लिम धर्मगुरुहरूले रमजान महिनाको आध्यात्मिक महत्व तथा सामाजिक सद्भावका विषयमा प्रवचन दिएका थिए ।

उपस्थित सहभागीहरूले सामूहिक रूपमा रोजा खोलेका थिए भने आपसी शुभकामना आदान–प्रदान गर्दै एकता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । वक्ताहरूले रमजानले आत्मअनुशासन, सहिष्णुता र परोपकारको सन्देश दिने उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाउने धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पन्थीले रमजान महिना आत्मशुद्धि, धैर्यता र सहअस्तित्वको प्रतीक भएको उल्लेख गर्दै कतारमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । परिषद्का अध्यक्ष खानले पवित्र पर्वले नेपाली समुदायबीच भाइचारा, माया र सद्भाव सधैं कायम रहने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण संस्थाका कार्यवाहक महासचिव जीवन न्यौपानेले गरेका थिए ।

बृहत् इफ्तार कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुखहरू, सामाजिक अगुवा, समाजसेवी, धर्मगुरु तथा रोजा बस्ने मुस्लिम समुदायका बर्तालुहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?