© 2026
काठमाडौँ ।
विश्व व्यापार र कूटनीतिक सम्बन्धलाई तनावमुक्त बनाउने सन्देश दिँदै ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै देशहरूसँग समान व्यवहार गर्न आग्रह गरेका छन् ।
अमेरिकी सर्वोच्च अदालतको प्रतिकूल फैसलापछि ट्रम्प प्रशासनले आयातमा १५ प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै लुलाले यस्तो धारणा सार्वजनिक गरेका हुन ।
नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले विश्वले नयाँ शीतयुद्धतर्फ जान नहुने बताए । “हामी नयाँ शीतयुद्ध चाहँदैनौँ, कुनै पनि देशमा हस्तक्षेप गर्न चाहँदैनौँ र सबै देशहरूलाई समान रूपमा व्यवहार गर्न चाहन्छौँ”, उनले भने।
उनले आफ्नो टिप्पणीलाई अमेरिकी न्यायिक निर्णयप्रति प्रत्यक्ष प्रतिक्रिया नभएको स्पष्ट पार्दै संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध चाँडै सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार छ–तीनको बहुमतमा फैसला गर्दै सन् १९७७ को कानूनले राष्ट्रपतिलाई व्यक्तिगत देशहरूमा एकतर्फी रूपमा कर लगाउने अधिकार नदिएको ठहर गरेको थियो । उक्त कानुनको आधारमा ट्रम्प प्रशासनले विश्वव्यापी व्यापारमा असर पर्ने गरी विभिन्न देशहरूमा अचानक कर लगाउँदै आएको थियो ।
असी वर्षीय अनुभवी वामपन्थी नेता लुला अर्को महिना ट्रम्पसँग भेट गर्न वासिङ्टन जाने तयारीमा रहेका छन् । “हाम्रो कुराकानीपछि ब्राजिल–अमेरिका सम्बन्ध सामान्य अवस्थामा फर्कनेछ भन्ने कुरामा म विश्वस्त छु”, उनले भने । उनले ब्राजिलको प्राथमिकता शान्तिपूर्ण सहअस्तित्व, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्नु रहेको उल्लेख गरे ।
केही महिनादेखि वासिङ्टन र ब्रासिलियाबिच बढेको वैमनस्य क्रमशः कम हुँदै गएको सङ्केत देखिएको छ । ट्रम्प प्रशासनले गत वर्ष ब्राजिलमाथि लगाइएको ४० प्रतिशत करबाट ब्राजिलका प्रमुख निर्यात वस्तुहरूलाई छुट दिएको थियो, जसले सम्बन्ध सुधारको बाटो खोलेको मानिएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन बुधबार भारत आइपुगेका लुलाले विश्वलाई थप अस्थिरता नभई शान्ति आवश्यक रहेको बताए । “विश्वलाई थप अशान्ति होइन, शान्ति चाहिन्छ”, उनले जोड दिए ।
शनिबार भारत र ब्राजिलबीच महत्त्वपूर्ण खनिज तथा दुर्लभ पृथ्वी तत्त्वको क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । लुला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको भेटवार्तापछि दुवै देशबिच अन्य विभिन्न सम्झौतामा समेत हस्ताक्षर भएको जनाइएको छ ।रासस