Butwal Today

रुपन्देही–२ मा विश्वदीपको लहर घरदैलो अभियानले बढायो जनसमर्थन

१० फाल्गुन २०८२, आइतबार
अ+
अ-

बुटवल ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डेको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको दाबी गरिएको छ। घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्।

फागुन १७ गतेदेखि सुरु गरिएको घरदैलो अभियानमार्फत पाण्डे हालसम्म करिब १३ हजार घरधुरीमा पुगेका छन् भने करिब ३५ हजार मतदातासँग प्रत्यक्ष भेटघाट गरिसकेका छन्। अभियानका क्रममा स्थानीय बासिन्दासँग विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र दैनिक जीवनसँग जोडिएका समस्या तथा समाधानबारे छलफल भइरहेको उनको टोलीले जनाएको छ।

घरदैलोका क्रममा देखिएको उत्साहजनक सहभागिताले आफूलाई थप ऊर्जा मिलेको पाण्डेको भनाइ छ। धेरै मतदाताले उनलाई युवा, अनुभवी र स्थानीय मुद्दा बुझेको उम्मेदवारका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

स्थानीय लेखनाथ पौडेलले भने, “पहिले अरूलाई समर्थन गरेका थियौं, तर यसपटक विश्वदीपलाई साथ दिने निर्णय गरेका छौं। उहाँमा स्थानीय नेतृत्वको क्षमता देखेका छौं।”

विशेषगरी यस क्षेत्रका मतदाताहरू रोजगारी सिर्जना, उद्योग पुनरुत्थान, महँगी नियन्त्रण र युवा पलायन रोक्न सक्ने स्पष्ट योजना भएको नेतृत्व खोजिरहेका छन्। पाण्डेले भेटघाटका क्रममा बुटवल केन्द्रित औद्योगिक पुनर्जागरण, साना तथा मझौला उद्यम प्रवर्द्धन, सीप विकास कार्यक्रम र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले भने, “हामीलाई अभूतपूर्व समर्थन प्राप्त भइरहेको छ। जनताको चाहना र हाम्रो विकास दृष्टि मिल्दोजुल्दो भएकाले विश्वास बढ्दै गएको हो। यो समर्थनलाई परिणाममा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ।”

घरदैलो अभियानलाई अझै सघन बनाउँदै सबै वडामा पुग्ने तयारी भइरहेको उनको निर्वाचन परिचालन समितिले जनाएको छ। बढ्दो जनसमर्थनसँगै रुपन्देही–२ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?