Butwal Today

रुपन्देही–२ का मतदातालाई विश्वदीपको भावनात्मक पत्र

१० फाल्गुन २०८२, आइतबार
अ+
अ-

बुटवल ।
रुपन्देही निर्वाचन क्षेत्र नंं.२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदाताका नाममा भावनात्मक पत्र पठाउँदै आफू “यस क्षेत्रको माटोको ऋण तिर्न” उम्मेदवारी दिएको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीबाट तारा चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विश्वदीपले आफू यही माटोमा खेलेर हुर्किएको, यहीँको सुख–दुःख भोगेको सन्तान भएको उल्लेख गर्दै मतदातासँग आत्मीय सम्बन्ध जोड्ने प्रयास गरेका छन्। उनले आफूलाई ‘पाहुँना उम्मेदवार’ ठान्ने भ्रम नफैलाउन आग्रह गर्दै स्पष्ट पारेका छन्—“म कतैबाट आयातित उम्मेदवार होइन, यहीँको घर–आँगनमा हुर्किएको तपाईंकै छोरो हुँ।”

पत्रमा उनले विपक्षीहरूले उठाएको प्रश्नसमेत सार्वजनिक गरेका छन्। “हिजो बाबुराम भट्टराई र भक्ति पाण्डेले हार बेहोरेको ठाउँमा किन आयौं रु” भन्ने प्रश्नको जवाफ दिँदै उनले लेखेका छन्—“हार र जित राजनीति का पाटा हुन्, तर यो मेरो जन्मभूमि र कर्मभूमि हो। आफ्नो माटो छोडेर भाग्ने म होइन।”

स्वर्गीय बुवा भक्ति पाण्डेले देखेका विकासका सपना अझै अधुरा रहेको उल्लेख गर्दै उनले ती सपना साकार पार्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्। “ती सपना अझै यही माटोमा सास फेरिरहेका छन्। म चुनाव जित्न मात्र होइन, त्यो अधुरो सपना पूरा गर्न र माटोको ऋण तिर्न आएको हुँ,” उनले लेखेका छन्।

विश्वदीपले बुटवल धागो कारखाना जस्ता उद्योग बन्द हुनु र युवाहरू रोजगारीका लागि दैनिक खाडी मुलुकतर्फ जान बाध्य हुनु राजनीतिक नेतृत्वको असफलताको परिणाम भएको दाबी गरेका छन्। उनले औद्योगिक पुनरुत्थान, स्थानीय रोजगारी सिर्जना र बुटवललाई आर्थिक गतिविधिको केन्द्र बनाउने आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

“नेताहरूले कुर्सी पाए, तर माटोको माया पाएनन्,” उनले पत्रमा उल्लेख गरेका छन्, “म तपाईँहरूसँग वाचा गर्छु—म यहीँ रहनेछु, यहीँ काम गर्नेछु। बुटवलको विकास, उद्योगको पुनर्जागरण र युवाको रोजगारी मेरो पहिलो र अन्तिम संकल्प हो।”

पत्रको अन्त्यमा उनले रुपन्देही–२ लाई विकासको नमुना क्षेत्र बनाउने लक्ष्य राख्दै सबै मतदातासँग साथ, सहयोग र विश्वासको अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?