© 2026
बुटवल ।
तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।मतदाताले नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट तारा चुनाव चिन्ह लिएर उम्मेदवार रहेका पाण्डे समक्ष विभिन्न अपेक्षा राख्दै छाडा चौपायाका कारण खेप्नु परेको सास्तीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । र, तिलोत्तमा वडा नं – १ मा रहेको गौशाला अन्यत्र सार्न माग गरेका छन् ।
तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा चौपायाले समस्या पारिरहेका बेला भैरहवामा रहेका छाडा चौपाया समेत गौशालामा ल्याईने र केही दिनमै छाडिने गरेको गुनासो स्थानीयको छ । घरदैलोको क्रममा आज आईतवार तिलोत्तमाको वडा नं – १ मा पुगेका पाण्डेसंग स्थानीय व्यवसायी टिकाराम भण्डारीले आफूहरुको पीडाप्रति कसैले पनि वास्ता नगरेको गुनासो गरे । भण्डारीले अहिलेसम्म आफ्ना समस्या सुन्ने र देख्ने निकाय नभएको भन्दै उम्मेदवार विश्वदीपलाई अभिभावकीय भूमिका खेल्न आग्रह गरे ।
छाडा चौपायाले स्थानीय कृषकको बालिनालीमा हानी नोक्सानी पुर्याउनुका साथै व्यवसायीलाई समस्या पार्दै आएका छन् । त्यतिमात्र होईन, छाडा चौपायाकै कारण सडक दुर्घटना बढ्नुकासाथै गाँउशहरमा फोहर समेत बढिरहेको छ ।
मतदाताका मौखिक र लिखित समस्याबारे जानकारी लिएपछि उम्मेदवार पाण्डेले जनताका समस्या पुरा गर्न आफू प्रतिवद्ध रहेको बताउँदै सरोकारवाला निकायसंगको समन्वयमा समस्याको अल्पकालिन र दीर्घकालिन योजना बनाएर समाधान गरिने उल्लेख गरे । तिलोत्तमाका मतदाताले उम्मेदवार पाण्डेसंग तिनाउ नदीबाट आउने तपाह खोलाको पानीमा केमिकल, प्लाष्टिक र फोहर बगेर आउँदा धेरै कृषक प्रभावित भएको गुनासो समेत गरे । कृषकको स्वास्थ्य सुरक्षाका लागि बुटवल क्षेत्रबाट नै फोहर फाल्न नदिई फोहरको वैज्ञानिक व्यवस्थापन गनुपर्ने उनीहरुको माग छ ।
स्थानीय व्यवसायी भण्डारी सहितले रुपन्देही क्षेत्र नं – २ का उम्मेदवार पाण्डेलाई विभिन्न समस्याबारे १२ बूँदामा लिखित जानकारी गराउँदै तिलोत्तमावासीका साझा माग र मुद्धाप्रति गम्भीर बन्न अनुरोध गरेका थिए । केहीबेर स्थानीयका समस्या सुनेपछि पाण्डेले यस क्षेत्रका समस्या समाधानका लागि जुनसुकै चुनौतीको सामना गरेर भएपनि हल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफू यही क्षेत्रमा जन्मेहुर्केको व्यक्ति भएकाले आश्वासन बाँडेर भोट बटुल्न आफू नआएको बताए । विगतमा आफूले संघिय सरकारको नेतृत्व गरेका नेताहरुसंग सहकार्य गर्ने अवसर पाएको र त्यो अनुभवलाई यस क्षेत्रका समस्या समाधान र विकासमा योगदान गर्न चाहेकाले उम्मेदवारी दिएको उनले मतदातासमक्ष बताएका थिए । उनीसंगको भेटमा मतदाताले विगतका उम्मेदवारले जस्तो आश्वासन मात्रै बाँडेर धोका नदिन र विजयीपछि काम विशेषबाहेक गाँउ छाड्ने काम नगर्न आग्रह गरेका थिए । मतदातालाई आश्वस्त पार्दै उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नगर्न र त्यसको परिणाम निर्वाचनपछि देखिने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्तासहितको घरदैलो तिलोत्तमाको वडा नं १ को बुद्धटोल, नयाँ चपरहट्टी टोल, शिवचोक, प्यारामाउण्ट टोल, मिलनटोल, प्रगतिटोल, सरस्वती टोलमा गरिएको निर्वाचन समितिका संयोजक नारायण जीसी निर्मलले बताए । उनका अनुसार वडा नं ५ को नयाँमिल, डाईभरटोल र वडा नं ४ को शिवपुर लगायतका क्षेत्रमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा मतदातालाई आफ्नो अमूल्य भोटले पाँच वर्षको लागि भाग्य र भविश्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न आग्रह गरिएको संयोजक जीसीको भनाई छ ।