© 2026
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर भोलि९आइतबार पनि कर्फ्यु आदेश निरन्तरता दिएका छन् ।
आज दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ । फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुनस् कर्फ्यु लागू रहने सूचनामा उल्लेख छ । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।
शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।
विवाद गौरका अन्य वडाहरूसम्म विस्तार भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरदेखि अश्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ जिपमै आगजनी गरेका थिए । पछि प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यु लगाएर सेना परिचालन गरी स्थिति साम्य पारेको थियो ।